औलोको उच्च जोखिममा नेपाल
काठमाडौँ, १२ वैशाख । गत आर्थिक वर्षमा मात्रै नेपालमा ७९१ जना औलोका बिरामी थपिएका छन् ।
यो तथ्याङ्क ले नेपालमा औलोको उच्च जोखिम रहेको देखाएको छ ।
पुष्टि भएका बिरामी सबै आयातित हुन् । आर्थिक वर्ष २०८१÷८२ मा ७६७ आयातित औलोका बिरामी रहेका छन् भने २४ जना भने स्थानीय हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले गत वर्ष ५२८ जनामा औलो पुष्टि भएको जानकारी दिदै तीमध्ये ५०५ जना आयातित र २३ जना स्थानीय रहेको जानकारी दिनुभयो ।
सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका बिरामीको सख्यालाई शून्यमा पु¥याउने लक्ष्य राखेको थियो । तत्थ्याङ्कले औलोको जोखिम कायमै रहेको देखाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ७९१ जनामा औलो पुष्टि भएको हो । खुला सीमा र हिमाली जिल्लामा औलोका बिरामी भेटिएकाले औलो नियन्त्रणमा चुनौती थपिएको छ ।
डा.दाहालले औलो रणनीतिक योजना २०२५÷२०३० अनुसार नेपाललाई सन् २०३० सम्म औलो मुक्त राष्ट्र बनाउने लक्ष्य रहेको जानकारी दिदै सोही अनुसार औलो निवारण लक्षित कार्यक्रमहरू गरिएको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय स्तरमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
डा.दाहालका अनुसार औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्दछ । टाउको दुख्नु, थकाई लाग्नु, ज्वरो आउनु, वान्ता हुनु, शरीरका भित्री अङ्ग सुन्निनु, जोर्नी दुख्नु, अत्याधिक जाडो हुनु, शरीरमा रगतको मात्र कम हुनु औलोका मुख्य लक्षण हुन् । उहाँले नेपालमा मुख्यतया औलाको दुई किसिमका परजिवी प्याज्मोडियम फास्लिपारम र प्याज्मोडियम भाइभेक्स हुने जानकारी दिदै प्याज्मोडियम फास्लिपारमले गराउने औलो रोग जटिल र जोखिमयुक्त हुने बताउनुभयो । उहाँले गर्भवती, पाँच वर्ष मुनिका बालबालिका औलोको बढी जोखिममा हुन्छन् ।
औलोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुनै एक मात्र उपाय हो ।
यसैबीच आज विश्व औलो (मलेरिया) दिवस । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व औलो दिवस मनाइएको छ ।
‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाच वर्षमुनिका बालबालिका धेरै छन् ।