• सोमबार, १५ भदौ २०८३
  • images

    रसुवामा आकस्मिक उपचारका लागि ट्रमा सेन्टरको थप टोली

    रसुवामा आकस्मिक उपचारका लागि ट्रमा सेन्टरको थप टोली

    आइतबार, भदौ १४ २०८३
    आइतबार, भदौ १४ २०८३
    रसुवामा आकस्मिक उपचारका लागि ट्रमा सेन्टरको थप टोली

    काठमाडौं, १४ भदौ । हिमबाढी प्रभावित रसुवामा स्वास्थ्य सेवा निरन्तरता दिन राष्ट्रिय ट्रमा सेन्टरले दोस्रो चिकित्सकीय टोली परिचालन गरेको छ। 
    हिमबाढीबाट घाइते भएका तथा स्वास्थ्य सेवा आवश्यक पर्ने स्थानीयको उपचारमा सहयोग पुर्‍याउन एमडीजीपी चिकित्सकको नेतृत्वमा टोली रसुवा पठाइएको हो।

    राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार बाढी आएको दिनदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन सेन्टरले चिकित्सकीय टोली परिचालन गर्दै आएको छ। उहाँले पहिलो टोली नुवाकोट हुँदै रसुवा पुगेपछि उपचार सेवा थप प्रभावकारी बनाउन दोस्रो टोली पठाइएको जानकारी दिनुभयो।

    विपद्का समयमा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्न सक्छ र उपलब्ध जनशक्तिले मात्रै सेवा धान्न कठिन हुन सक्छ। त्यसलाई ध्यानमा राखेर ट्रमा सेन्टरले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार चिकित्सकीय टोली परिचालन गरिरहेको छ,” प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मरासिनीले भन्नुभयो।

    दोस्रो टोलीको नेतृत्व एमडीजीपी डा. सरोजकुमार गोहिवारले गर्नुभएको छ। टोलीमा मेडिकल अफिसर डा. सितेश यादव, मेडिकल अफिसर डा. राजीव खड्का र स्वास्थ्य सहायक चन्दनकुमार यादव सहभागी हुनुहुन्छ।

    टोलीले रसुवा अस्पतालमा रहेर बाढी तथा पहिरोबाट घाइते भएका व्यक्तिको आकस्मिक उपचार, आवश्यक शल्यक्रिया तथा अन्य चिकित्सकीय सेवा प्रदान गर्नेछ। जटिल प्रकृतिका घाइतेको उपचार तथा आवश्यकताअनुसार थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने कार्यमा समेत टोलीले सहजीकरण गर्नेछ।

    बाढी आएको दिन राष्ट्रिय ट्रमा सेन्टरले तत्काल उद्धार तथा उपचारका लागि पहिलो चिकित्सकीय टोली नुवाकोटतर्फ परिचालन गरेको थियो। उक्त टोली प्रभावित क्षेत्र हुँदै रसुवा पुगेपछि त्यहाँको स्वास्थ्य सेवाको आवश्यकतालाई ध्यानमा राखी दोस्रो टोली थप गरिएको हो।

    विपद्का समयमा घाइतेको सङ्ख्या बढ्न सक्ने, नियमित स्वास्थ्य सेवामा अवरोध आउन सक्ने तथा स्थानीय स्वास्थ्य संस्थामा चिकित्सकीय जनशक्तिको चाप बढ्न सक्ने भएकाले ट्रमा सेन्टरले आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने जनाएको छ।

    प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मरासिनीले प्रभावित क्षेत्रमा उपचाररत बिरामीको अवस्था र स्थानीय स्वास्थ्य संस्थाको आवश्यकताका आधारमा चिकित्सकीय जनशक्ति तथा स्वास्थ्य सामग्री व्यवस्थापन गरिने जानकारी दिनुभयो।

    बाढी प्रभावित क्षेत्रमा तत्कालीन आकस्मिक उपचारसँगै नियमित स्वास्थ्य सेवा सञ्चालनमा सहयोग पुर्‍याउनु आवश्यक रहेकाले ट्रमा सेन्टरले चिकित्सकीय टोलीको परिचालनलाई निरन्तरता दिएको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार