काठमाडौं, ९ भदौ । स्वास्थ्य सेवा विभागअन्तर्गतका महत्वपूर्ण महाशाखाको नेतृत्वमा परिवर्तन गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णयमार्फत विभाग तथा मन्त्रालयमा कार्यरत केही उच्च तहका चिकित्सक तथा कर्मचारीको जिम्मेवारी हेरफेर गर्नुभएको हो।
निर्णयअनुसार स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. वीरेन्द्रकुमार मण्डललाई जिम्मेवारी दिइएको छ। यसअघि उक्त महाशाखाको निर्देशकका रूपमा कार्यरत केशव पण्डितलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको छ।
डा. मण्डल यसअघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत हुनुहुन्थ्यो। अस्पतालको नेतृत्व तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आउनुभएका डा. मण्डललाई विभागअन्तर्गतको महत्वपूर्ण व्यवस्थापन महाशाखाको नेतृत्व प्रदान गरिएको हो।
त्यसैगरी, मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी डा. विवेककुमार लाललाई दिइएको छ। स्वास्थ्य क्षेत्रको नीति तथा योजना निर्माण, कार्यक्रमको अनुगमन तथा स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विषयमा समन्वय गर्ने जिम्मेवारी उक्त महाशाखाले निर्वाह गर्दै आएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार नीति, योजना तथा अनुगमन महाशाखामा कार्यरत डा. गुणनिधि शर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा गरिएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत डा. भुवन पौडेललाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको छ।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागअन्तर्गतका महत्त्वपूर्ण जिम्मेवारीमा गरिएको हेरफेरसँगै सम्बन्धित अधिकारीहरूले नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन्। स्वास्थ्य सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोडिएका महत्त्वपूर्ण निकायमा अनुभवी जनशक्तिको जिम्मेवारी परिवर्तनलाई प्रशासनिक व्यवस्थापनको नियमित प्रक्रियाका रूपमा हेरिएको छ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले स्वास्थ्य संस्थाको व्यवस्थापन, स्वास्थ्य सामग्री तथा औषधिको आपूर्ति र व्यवस्थापनलगायत स्वास्थ्य सेवा सञ्चालनसँग सम्बन्धित महत्त्वपूर्ण कार्यको समन्वय गर्दै आएको छ। त्यसैगरी, नीति, योजना तथा अनुगमन महाशाखाले स्वास्थ्य क्षेत्रका नीति तथा योजना तर्जुमा, कार्यान्वयनको अनुगमन र कार्यक्रमगत समन्वयमा भूमिका निर्वाह गर्दै आएको छ।