• सोमबार, १५ भदौ २०८३
  • images

    महामारीको जोखिम भएपछि २२९ शव जमिनमुनि गाडिने 

    महामारीको जोखिम भएपछि २२९ शव जमिनमुनि गाडिने 

    शनिबार, भदौ १३ २०८३
    शनिबार, भदौ १३ २०८३
    महामारीको जोखिम भएपछि २२९ शव जमिनमुनि गाडिने 

    चितवन, १३ भदौ । रसुवाको भोटेकोशी बाढीपछि चितवनमा संकलन गरिएका २२९ शव गल्न थालेपछि डीएनए नमुना सुरक्षित गरेर जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले  जिल्लामा हालसम्म २३३ शव तथा शवका अवशेष संकलन भएको जानकारी दिदै पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने बताउनुभयो ।
     प्रमुख जिल्ला अधिकारी अर्यालले तीमध्ये चार शवको पहिचान भइसकेको जानकारी गराउनुभयो । उहाँले २२९ शव अझै पहिचान हुन नसकेको प्रष्ट पार्नुभयो ।

    शव लामो समयदेखि सरकारी भवन तथा भरतपुर अस्पतालमा राख्दा  सड्न तथा गल्न थालेका छन्। यसबाट दुर्गन्ध फैलिने, संक्रमण तथा महामारीको जोखिम बढ्न सक्ने भएपछि जमिनमुनि व्यबस्थापन गर्न लागिएको हो ।

    उहाँले स्वास्थ्य क्षेत्रका विज्ञहरुको सुझाव दिएपछि शव व्यवस्थापनको निर्णय गरिएको बताउनुभयो 
     शव सड्न थालेका छन् र लामो समयसम्म सुरक्षित राखिरहने अवस्था पनि छैन, अर्यालले भन्नुभयो,"स्वास्थ्य तथा वातावरणीय जोखिमलाई ध्यानमा राखेर डीएनए नमुना सुरक्षित गरी व्यवस्थापन गर्न लागिएको हो।"

     प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला सुरक्षा समितिको भदौ १३ गतेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शव व्यवस्थापन गरिने बताउनुभयो ।

    उहाका अनुसार  प्रत्येक शवबाट डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। भविष्यमा आफन्तले शवको पहिचानका लागि दाबी गरेमा सुरक्षित राखिएको डीएन नमुनामार्फत पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।

    शव तथा शवका अवशेष भरतपुर महानगरपालिका–१, देवघाटस्थित तोकिएको खुला स्थानमा जमिनमुनि व्यवस्थापन गर्ने तयारी गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले शव व्यवस्थापनको निर्णय सहज नभएको बताउँदै पीडित परिवारको भावनाप्रति प्रशासन संवेदनशील रहेको बताउनुभयो।

    यो निर्णय सहज होइन, आफन्त गुमाएका परिवारको पीडा हामीले बुझेका छौँ, उहाँले भन्नुभयो, "अहिलेको परिस्थितिमा स्वास्थ्य र वातावरणीय जोखिमसमेत ध्यान दिनुपर्ने भएकाले बाध्यात्मक रूपमा व्यवस्थापन गर्न लागिएको हो ।” 
    भरतपुर अस्पतालका प्रमुख डा. विश्व बन्धु बगालेले शव धेरै दिनसम्म राख्दा महामारी फैलन सक्ने बताउनुभयो । उहाँले शव व्यवस्थापनअघि आवश्यक डीएनए नमुना सुरक्षित राखिने जानकारी दिनुभयो । त्यसको लागि चिकित्सकको चार समूह बनाएर काम भइरहेको छ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार