काठमाडौं । उच्च पहाडी तथा हिमाली जिल्लामा पनि कालाजार रोग देखिन थालेको छ ।
तराईमा युवा र प्रौढ उमेरका व्यक्तिमा बढी देखिएको कालाजार हिमाली जिल्लमा बालबालिकामा बढी देखिन थालेको छ ।
सन् २०२० मा देखिएका २१५ कालाजारका बिरामीमध्ये अधिकाशं बालबालिका रहेको बताइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ओखलढुंगा, कालिकोट, सुर्खेत, डडेलधुरा र पाल्पा उच्च संख्यामा कालाजारका बिरामी देखिएका प्रमुख पाँच जिल्ला हुन्।
सन् २०२० को तथ्यांक अनुसार देशभर २१५ कालाजारका बिरामी भेटिएका थिए।
नेपालमा पहिलो पटक सन् १९६० मा कालाजार रोग भेटिएको रिर्पोट भएको थियो। सुरुवाती दिनमा पर्सा, बारा, रौतहट, सर्लाही, मोहत्तरी, धनुषा, सिरहा, उदयपुर, सप्तरी, सुनसरी, मोरङ र झापा गरी १२ वटा जिल्लामा कालाजारका बिरामी देखिएका थिए। पछिल्लो समय यी जिल्लामा बिरामीको संख्या कम हुँदै गएको छ भने पहाडी र हिमाली जिल्लामा बिरामी देखिन थालेका छन्।
प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णाली प्रदेशमा ५१ जना, सुदूरपश्चिम प्रदेशमा ४९ जना, प्रदेश १ मा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, बागमती प्रदेशमा २० जना, प्रदेश २ मा १३ र गण्डकी प्रदेशमा ९ जनामा कालाजार पुष्टि भएको थियो। एक जना विदेशीमा पनि २०२० कालाजार पत्ता लागेको थियो। जसमध्ये ओखलढुंगामा २९, कालिकोटमा २६, सुर्खेतमा १०, डडेलधुरामा ९ र पाल्पामा ९ जना कालाजारका बिरामी रिर्पोट भएका थिए।
पछिल्ला दिनमा बिरामीको संख्या घट्दै गएपनि उच्च भेगमा कालाजारका बिरामी भेटिनुले सरकारले राखेको २०३० मा कालाजार उन्मुलनको लक्ष्य पुरा हुन चुनौति देखिन्छ।