• सोमबार, १५ भदौ २०८३
  • images
    कविता

    बलात्कारीलाई  फासीको  सजाय  गर्न  मिल्दैन !

    बलात्कारीलाई  फासीको  सजाय  गर्न  मिल्दैन !

    आइतबार, भदौ ७ २०८३
    बलात्कारीलाई  फासीको  सजाय  गर्न  मिल्दैन !

    मानव बस्तीमा  पशुहरु 
    दुधे बालिकालाई  बलात्कार गरिरहेका छन!
    आखा निकालेर,
    जिब्रो  काटेर ,
    शरीरभरि  पत्तीले  छिया- छिया पारेर 
    बोरामा पोको  पारेर  फालिरहेका छन् !
    राज्य  भन्छ  कानुन  नै  छैन 
    बलात्कारीलाई  फासीको  सजाय  दिन  मिल्दैन !

    विचारमा सहमत  नहुदा 
    सामाजिक  संजाल रंगिरहेका छन् 
    बलात्कार गर्ने हो  त्यसलाई 
    भनिरहेका छन् 
    भेडाहरु  थपिरहेका छन् -
    `हो- हो  त्यसलाई त  बलात्कार  गर्ने हो  ´
    पोथी भएर पनि 
    धेरै किन बास्नु परेको!
    छोरी हुनेका  बाबु आमा  भन्दै छन् 
    बलात्कार दुरुत्साहन मुद्दामा फासि सजायको  ब्यबस्था गर  सरकार 
    एउटा जमात भन्छ गरेको त  छैन!
    राज्य  भन्छ कानुन नै  छैन 
    दुरुत्साहन गर्नेलाई  त  केहि  गर्नै  मिल्दैन !

    उ  बलात्कार  गर्दै  थियो 
    केहि  पशुहरु  भनिरहेका  थिए-` गर्न  देउ´!
    छोटा लुगा  किन  लगाउनु परेको !
    रात- बिरात घर  बाहिर 
    एक्लै किन   हिड्नु परेको !

    बलात्कार एउटा छोरीको  भन्दा बढी
    सभ्यता ,सुरक्षा र संस्कारको  भएको  छ 
    नाबालकको  मनमा यस्तो पाप   कसरी  पलाएको छ ?
    यस्तो घृणित कार्यमा  
    उसको  मनोबल कसरी बढदै   गएको छ  ?
    १६ बर्ष नपुग्दै बलात्कार गर्ने 
    निच  सोच कसरी  जन्मिएको छ  ?

    बलात्कार गरेपनि 
    छोरीलाई  ज्युदै छाडिदिनु भन्दै बिन्ती गर्दै छन् 
    बा-आमा हरु!
    उ  भन्छ 
    तिम्रो  छोरीको  यौन शोषणले मात्र पुग्दैन !
    उनैको  रगतले  नुहाउन पर्छ चोख्याउन!
    बा-आमा  भन्दै छन्  फासीको  ब्यबस्था गर सरकार !
    राज्य भन्छ  कानुन  नै  छैन 
    बलात्कारिलाई  फासीको  सजाय  गर्न  मिल्दैन !


    कानुन नै  नभएको कि  
    नबनाएको?
    उसलाई बलात्कार गरेर  अर्काको छोरी  हत्या  गर्ने छुट कसले  दियो ?
    छोरालाई संस्कार दिने  बा- आमाले ?
    नैतिक शिक्षा दिने स्कुलले ?
    नाबालिक भन्दै ढाक छोप गर्ने समाजले ?
    अतिरन्जना गर्ने  सामाजिक संजालले ?
    ब्लु फिल्ममा  देखाउने  भल्गर दृश्यले ?

    बलात्कारपछि  ज्युदो छोरी  भेट्न मुस्किल छ !
    भेटिएका ज्युदा छोरीलाई 
    समाजमा  फेरि  बाच्न मुस्किल छ !
    उनैको  चरीत्रमा  शंका गर्ने 
    घर, परिवार अनि  समाज!
    बलात्कारको प्रमाण माग्ने न्यायाधीश!
    तुच्छ प्रश्नहरु सोध्ने प्रणाली !
    जाबो बलात्कार त  भएको  हो नि  भन्दै  छ  एउटा  जमात !
    अनि  राज्य भन्दै छ 
    कानुन नै छैन
    बलात्कारीलाई फासीको  सजाय  दिन  मिल्दैन !

    गरिमा, निर्मला पन्त अनि  इनिशा बि क  हरु  सोध्दै छन् 
    त्यसोभए  कानुन  कहिले  बन्छ ?
    के  कानुन बन्न अब  
    कानुन  बनाउने कै  छोरीहरु 
    बलात्कृत हुनु पर्ने  हो ?
    मानव बस्तीमा पशुहरु 
    दुधे बालिकालाई बलात्कार गरिरहेका छन् 
    बीभत्स हत्या  गरेर  फालिरहेका छन् 
    राज्य भन्छ  कानुन नै  छैन!
    बलात्कारीलाई फासीको  सजाय  दिन  मिल्दैन !

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार