• सोमबार, १५ भदौ २०८३
  • images

    सन् २०३० सम्ममा हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य

    सन् २०३० सम्ममा हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य

    हेल्दीखबर
    आइतबार, फागुन २२ २०७८
    हेल्दीखबर
    आइतबार, फागुन २२ २०७८
    सन् २०३० सम्ममा हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य

    काठमाडौँ । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ । समुदायमा सङ्क्रमण नभएका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सप्तरी, सिरहा, उदयपुर, ओखलढुङ्गा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, पर्सा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी, तनहुँ, गोरखालगायतका जिल्ला छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदायस्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदायस्तरमा फैलिइसकेको छ । ती जिल्लामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली रहेका छन् । यी जिल्लामा समुदायस्तरको सङ्क्रमण एकपटक रोकिएर फेरि फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले झापा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, कैलाली र बागलुङमा यसअघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सङ्क्रमण यथावत् रहेको जानकारी गराउनुभयो ।

    उहाँले यी १० जिल्लालाई लक्षित गर्दै फागुन २८ देखि हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्य सुरु गरिने बताउनुभयो । १० जिल्लामा फागुन २८ देखि नै अभियान सुरु हुनेछ । उहाँले रोग निवारणका लागि औषधि सेवन गर्नैपर्छ भन्दै यस विषयमा स्वास्थ्यकर्मीमात्र नभई, सञ्चार क्षेत्र र राजनीति क्षेत्रका मानिसले पनि सचेतना फैलाउन सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

    उहाँले पाँचवटा जिल्ला खोटाङ, गुल्मी, ताप्लेजुङ, सङ्खुवासभा र दोलखा जिल्लामा हात्तीपाइलेको कुनै पनि जोखिम नरहेको जानकारी गराउनुभयो । महतोका अनुसार सङ्क्रमण भएका पाँच जिल्लाको अध्ययन गर्दा शरीरमा हात्तीपाइलेको परजीवी हुने तर कुनै पनि लक्षण नदेखिने गरेको पाइएको बताउनुभयो । महतोका अनुसार ९५ प्रतिशतमा हात्तीपाइलेको परजीवी भए पनि कुनै लक्षण देखिँदैन ।

    नेपालको तथ्याङ्कअनुसार ९५ प्रतिशतलाई लक्षण नहुने र त्यही परजीवी पछि गएर लक्षणसहित रोगका रूपमा देखापर्ने हुन्छ । उहाँले सङ्क्रमण रहेका १० मा पटक–पटक गरी १३औँ पटकसम्म पनि औषधि खुवाइसकिएको भन्दै यति धेरै औषधि खुवाउँदा पनि समुदायमा सङ्क्रमण नरोकिनुमा औषधिले काम नगर्नु हो भन्नुभयो ।

    ती जिल्लामा पहिलेको भन्दा सङ्क्रमण दर घटेको उहाँको भनाइ छ । सरकारले हात्तीपाइले अभियानमा औषधिबाहेक एउटा जिल्लामा एक करोडभन्दा बढी बजेट खर्च गरेको छ । मानिसले त्यो औषधि नखाइदिँदा समस्या भइरहेको छ ।
    ३५ जिल्लामा हात्तीपाइले रोगका बिरामी २६ हजार १५३ जना छन् । तीमध्ये धेरैमा हाइड्रोसिलको समस्या छ । त्यस्तै स्तन सुन्निने, कहिलेकाहीँ खोकीमात्र लाग्ने, अण्डकोश र खुट्टा पनि सुन्निने हुन्छ । कहिलेकाहीँ यी कुनै पनि लक्षण नदेखिन सक्छ । धेरैजसोलाई लक्षण पनि हुँदैन ।

    स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हात्तीपाइले रोग सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा छ । उक्त प्रदेशमा सात हजार ४०७ जना र बागमती प्रदेशमा सात हजार २३५ जनामा यो रोग छ । यस्तै, मधेस प्रदेशमा चार हजार ९२०, सुदूरपश्चिममा तीन हजार ८२० जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जना हात्तीपाइलेका रोगी छन् ।

    (गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेख्नुभएको समाचार)

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार