काठमाडौं, १८ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा आगामी सहयोगका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेटका क्रममा मन्त्री मेहताले नेपाललाई चीन सरकारले विभिन्न क्षेत्रमा प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
विशेषगरी स्वास्थ्य क्षेत्रका परियोजना तथा विकास कार्यक्रमहरूमा चीनको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले चीनले हासिल गरेको विकास अनुभवबाट नेपालले पनि पाठ सिक्दै योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो।
भेटमा चिनियाँ राजदूत चाङले नेपालको आर्थिक तथा सामाजिक विकासमा वर्तमान सरकारले सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रमा चीन सरकार सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो।
राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, स्वास्थ्य पूर्वाधार विकास तथा खाद्य स्वच्छता क्षेत्रमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग विस्तार गर्न सकिने प्रस्तावसमेत राख्नुभएको मन्त्रालयले जनाएको छ।
भेटवार्तामा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो।