काठमाडौं, ११ कात्तिक । ग्राण्डी इन्टरनेशनल अस्पताल र आन्दोलनरत नर्सबिच सहमति भएको छ ।
सरकारी नर्स सरह पारिश्रमिक पाउनुपर्ने, ओटी, रात्रिकालिन ड्युटीको समयमा अतिरिक्त भत्ता लगायतका माग राखेर ग्राण्डी अस्पतालमा कार्यरत नर्सहरु गत सातादेखि आन्दोलनरत थिए ।
अस्पताल प्रशासनले दिएको जानकारी अनुसार नर्सहरुले उठाएका सम्र्पूण माग पुरा भएको छ । उहाँहरुको सबै माग पुरा भएका छन्, उहाँले भन्नुभयो,“अस्पतालले अबदेखि नर्सलाई सरकारी सरह तलब भत्ता दिने सहमति भएको छ ।”
अस्पताल प्रशासनले आन्दोलनरत नर्सहरूलाई सरकारी सरह पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपछि आन्दोलनरत नर्सहरू आजदेखि आन्दोलन फिर्ता गर्दै नियमित काममा फर्किएका छन् ।
ग्रान्डी हस्पिटलका नर्स तथा प्रशासनबीच भएको वार्तामा सरकारी सरह पारिीश्रमिक, न्योचित तलब स्केल, अतिरिक्त घण्टाको भुक्तानी र पेशागत सम्मान सुनिश्चित गर्न सहमति भएको हो ।
अस्पताल प्रशासनका अनुसार, नर्सहरूको मागलाई उचित रूपमा सम्बोधन गरिएको छ । आज भएको सहमतिले संस्थाभित्रको कार्य वातावरण अझ सुदृढ हुनेछ।
आन्दोलनरत नर्सहरूले पनि यसलाई सकारात्मक कदम भन्दै आन्दोलन स्थगित गरेका छन्।
गएको सातादेखि ग्रान्डीका नर्स तथा स्वास्थ्यकर्मीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका थिए। सुरुवातमा उनीहरूले प्रतीकात्मक धर्ना, मौन प्रदर्शन र विरोध कार्यक्रम सञ्चालन गरेका थिए।
आन्दोलनको क्रममा उनीहरूले अस्पताल प्रशासनलाई पेस गरेको मागपत्रमा न्यायोचित पारिश्रमिक र तलब स्केल कार्यान्वयन, कार्यस्थलमा समान व्यवहार र पेशागत सम्मान, रात्री सेवा र अतिरिक्त घण्टाको उचित भुक्तानी, नर्स सुरक्षा नीति र बीमा लागू, अस्पताल प्रशासनसँग खुला संवाद र पारदर्शितालगायतका १३ बुँदा रहेका थिए ।
ु