• मंगलबार, ३ कात्तिक २०८३
  • images

    बाढीपीडितका लागि मियानद्वारा तीन करोडभन्दा बढीको औषधि सहयोग

    बाढीपीडितका लागि मियानद्वारा तीन करोडभन्दा बढीको औषधि सहयोग

    सोमबार, भदौ १५ २०८३
    सोमबार, भदौ १५ २०८३
    बाढीपीडितका लागि मियानद्वारा तीन करोडभन्दा बढीको औषधि सहयोग

    काठमाडौँ, १५ भदौ । नेपाल औषधि आयातकर्ता संघ (मियान) ले हालैको हिमबाढी तथा बाढीपहिरोबाट प्रभावित नागरिकको उपचारका लागि तीन करोड रुपियाँभन्दा बढी मूल्य बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

    मियानले आफ्ना सदस्य औषधि आयातकर्ता तथा औषधि व्यवसायीहरूबाट संकलन गरेको ठूलो परिमाणको अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री औषधि व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो। प्राप्त औषधि तथा सामग्री बाढी प्रभावित क्षेत्रमा उपचाररत घाइते तथा बिरामीका लागि आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरिने छ ।

    images


    औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई मियानका तर्फबाट औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। विपद्का कारण प्रभावित क्षेत्रमा उपचार सेवा सञ्चालनका क्रममा अत्यावश्यक औषधिको माग बढिरहेका बेला मियानले ठूलो परिमाणमा औषधि उपलब्ध गराएको हो।

    मियानले उपलब्ध गराएको विवरणमा बाढीपहिरोमा घाइते तथा बिरामीको उपचारमा आवश्यक पर्ने विभिन्न प्रकारका औषधि समावेश छन् । प्यारासिटामोल, डाइक्लोफेनाक, ट्रानेक्सामिक एसिड, सेफ्ट्रियाक्सोन, मेट्रोनिडाजोल, एमिकासिन, एसाइक्लोभिर, ओन्डान्सेट्रोन, प्यान्टोप्राजोललगायतका औषधि सहयोग गरिएको छ। त्यस्तै नर्मल स्लाइन, डेक्स्ट्रोज, रिङ्गर्स ल्याक्टेट, ओआरएस, ग्लोभ्स, मास्क, क्यानुला, ब्यान्डेज, गज, फोले क्याथेटर, ड्रेसिङ सामग्री तथा प्राथमिक उपचारका सामग्रीसमेत उपलब्ध गराइएको छ । 
    विभिन्न कम्पनी तथा औषधि वितरकहरूले आ–आफ्नो तर्फबाट औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। विवरणमा एक्सेल फर्मा, यति फार्माकेम डिस्ट्रीब्युटर्स, श्री ओम ब्रदर्स, ८ पिक्स हेल्थकेयर, आरबी फार्मास्युटिकल्स, अल्पाइन फार्मास्युटिकल्स डिस्ट्रीब्युटर्स, न्यु ड्रग डिस्ट्रीब्युटर्स, फार्मनुरा, ब्लुमुन मेडिटेक फार्मा, नाइस फार्माको, बिस्ट्रा फार्मा लिंक, प्रोत्साहन ट्रेड लिंक, एएम बोइटेक, सेफाल स्वास्थ्य सेवा, एभोल्भ फार्मालगायतका कम्पनीबाट औषधि तथा सामग्री उपलब्ध गराइएको उल्लेख छ।

    औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले मियानले उपलब्ध गराएको औषधिले हिमबाढीमा परेका तथा बाढीबाट प्रभावित नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो। विपद्का बेला उपचारका लागि अत्यावश्यक औषधि ठूलो परिमाणमा प्राप्त भएकाले प्रभावित क्षेत्रमा औषधिको समस्या हुन नदिने उहाँले बताउनुभयो।

    महानिर्देशक भट्टराईले मियानले उपलब्ध गराएको औषधिले हिमबाढीमा परेका र प्रभावित नागरिकलाई ठूलो राहत हुने भन्दै तीन करोड रुपियाँभन्दा बढीको औषधि उपलब्ध भएकाले तत्काल औषधिको समस्या नहुने बताउनुभयो । 

    उहाँले विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त सहयोगले सरकारको राहत तथा स्वास्थ्य उपचार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै मियानका अध्यक्षसहित सम्पूर्ण सदस्य तथा सहयोगी औषधि व्यवसायीलाई धन्यवाद दिनुभयो।

    मियानका अध्यक्ष पवनकुमार आचार्यले बाढीपीडितलाई सरकारमार्फत अत्यावश्यक औषधि उपलब्ध गराउन पाउनु संघका लागि ठूलो कुरा भएको बताउनुभयो। विपद्को समयमा औषधिको आवश्यकता अत्यधिक हुने भएकाले मानवीय दायित्वका रूपमा सदस्यहरूबाट सहयोग जुटाइएको उहाँले बताउनुभयो । 

    बाढीपीडितलाई सरकारमार्फत अत्यावश्यक औषधि उपलब्ध गराउन पाउनु हाम्रा लागि ठूलो कुरा हो। विपद्का बेला औषधिको आवश्यकता हुने भएकाले हामीले आफ्ना सदस्यहरूबाट औषधि संकलन गरेर सहयोग गरेका हौँ,” अध्यक्ष आचार्यले भन्नुभयो।

    उहाँले अहिले गरिएको सहयोग सुरुवात मात्र भएको बताउँदै प्रभावित क्षेत्रमा थप औषधिको आवश्यकता परे मियानले पुनः सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

     बाढी प्रभावित क्षेत्रमा अझै औषधिको आवश्यकता परे मियानले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आवश्यकताअनुसार औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन तयार रहेको बताउनुभयो । 
    अध्यक्ष आचार्यले मियानले यसअघि पनि विभिन्न विपद्का समयमा सरकार तथा प्रभावित नागरिकलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको जानकारी दिनुभयो। औषधि व्यवसायीहरू नाफामुखी व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा समेत प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । 

    बाढी तथा पहिरोबाट स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र औषधि आपूर्ति प्रणालीसमेत प्रभावित भएका अवस्थामा अत्यावश्यक औषधिको नियमित आपूर्ति चुनौतीपूर्ण बन्ने गरेको छ। यस्तो अवस्थामा ठूलो परिमाणमा औषधि तथा स्वास्थ्य सामग्री प्राप्त भएपछि प्रभावित क्षेत्रमा उपचार सेवा सञ्चालन गर्न सहज हुने विभागले जनाएको छ।

    मियानले उपलब्ध गराएको औषधि तथा स्वास्थ्य सामग्रीलाई आवश्यकता बढी भएका प्रभावित स्वास्थ्य संस्था र उपचार केन्द्रमा प्राथमिकताका आधारमा पठाउने तयारी गरिएको छ। सरकारी संयन्त्र र निजी क्षेत्रबीचको सहकार्यबाट विपद् प्रभावित नागरिकलाई तत्काल उपचार तथा औषधि उपलब्ध गराउने अभियानलाई थप प्रभावकारी बनाउन सकिने सरोकारवालाको भनाइ छ । 
    औषधि हस्तान्तरण कार्यक्रममा मियानका अध्यक्ष पवनकुमार आचार्य, निवर्तमान अध्यक्ष अञ्जनकुमार पुडासैनी, उपाध्यक्षहरू पृथ्वीराज वैद्य र सुमन कायल, महासचिव मधु पौडेल, सचिव सुरेश अग्रवाल, कोषाध्यक्ष सन्दीप खनालसहित संघका कार्यसमिति तथा सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार