काठमाडौं, १० असोज । निर्वाह भत्ता नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्र्तगतका चारसय जना आवासीय चिकित्सकहरु आन्दोलित भएका छन् ।
विगत ३ महिनादेखी निर्वाह भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक ओपिडी बन्द गरेर आन्दोलित भएका हुन् ।
निर्वाह भत्ताको विषयमा भएको पटक पटकको वार्ता प्रशासनको गैरजिम्मेवारीपनका कारण परिणामुखी हुन नसकेकोले उनीहरु आन्दोलित भएका हुन् ।
न्याम्स अन्तर्गत विभिन्न अस्पतालमा हाल ४०० चिकित्सक कार्यरत्त छन् ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका उपाध्यक्ष डा बुद्धिमान तामाङले वीर, प्रसूती, कान्ति, राष्ट्रिय ट्रमा सेन्टर लगायत न्याम्स अन्तर्गतका आवासीय चिकित्सक विगत ३ महिनादेखी निर्वाह भत्ता नपाएको भन्दै आन्दोलित हुन बाध्य भएको जानकारी गराउनुभयो ।
‘प्रशासनले आउँछ आउँछ त भनेको तर कहिले आउँछ भनेको छैन’, डा तामाङले भन्नुभयो,“उपकूलपतिको कार्यालय अगाडि शान्तिपूर्णरुपमा धर्ना बसिरहेका छौं। भिसी सरसँग पनि बसिएको थियो तर उहाँको कुरा पनि विश्वसनीय लागेन।’
निर्वाह भत्तासहित दशैं भत्ता नपाए आन्दोलन जारी राख्ने उहाँको भनाई छ ।
न्याम्स अन्तर्गत कार्यरत्त आवासीय चिकित्सकले मासिक ४८ हजार निर्वाह भत्ता पाउने गरेका छन्।