१० दिनभित्र सुधारिएको करार कार्यविधि ल्याउनुपर्ने माग
काठमाडौं । निजामति कर्मचारी अस्पतालका चिकित्सकहरुले दुईबुँदे माग राख्दै आन्दोलन गरेका छन् । चिकित्सकहरुल्े अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीको हकहितमा हुने गरी करार कार्यविधि ल्याउनुपर्ने माग गरेका हुन् ।
अस्पतालमा कार्यरत डाक्टरहरुको जायज मागलाई पुर्णरुपमा वेस्वास्ता गर्दै एकतर्फी ल्याइएको करार कार्यविधि र कर्मचारीको सेवा सुविधाप्रति गम्भिर आपत्ति जनाएको छ ।करार कार्यविधि र कर्मचारीको सेवा सुविधा सम्बन्धमा निजामति कर्मचारी अस्पताल प्रशासन तथा सम्बन्धित उच्च निकाय र स्वास्थ मन्त्रालयमा छलफल गरी झुटो आश्वासन सहित विपरित कार्यविधि ल्याइएको भन्दै सो आपत्ति जनाएको हो ।
डक्टर्स एशोसिएसन अफ सिभिल सर्भिस अस्पतालले एक विज्ञप्ति जारी गरी कर्मचारीको हकहितमा हुने गरी संशोधित करार कार्यविधि ल्याउनुपर्ने माग गरेका हुन्। उक्त कार्यविधिको सेवा सुविधा सम्बन्धित नियमहरु परिमार्जन गर्न पनि उनीहरुको माग छ।
विज्ञप्तिमा भनिएको छ, ‘करार कार्यविधि र कर्मचारीको सेवा सुविधाका सम्बन्धमा निजामति कर्मचारी अस्पताल प्रशासन तथा सम्बन्धित उच्च निकायहरु र मन्त्रालयमा छलफल गरी झुटो आश्वासन सहित विपरित कार्यविधि आउनुमा यस एशोसिएसनको गम्भीर असहमति छ।’अस्पतालले आफ्ना मागहरुलाई बेवास्ता गरी एकतर्फी रुपमा करार कार्यविधि ल्याइएको भन्दै एशोसिएसनले आपत्ति जनाएको छ।
आफ्ना मागहरुलाई सम्बोधन गरी दश दिनभित्र सुधारिएको कार्यविधि ल्याउन उनीहरुको आग्रह छ। आफ्ना माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने एशोसिएसनको चेतावनी छ।
