काठमाडौं, ११ फागुन । ग्याष्ट्रो सर्जनहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी छन्।
सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी संघ नेपालका अध्यक्ष एवम् सम्मेलन आयोजक समितिका संयोजक प्रा।डा।मुकुन्दराज जोशीले सम्मेलनमा पेट तथा आन्द्रासम्बन्धी रोगका विषयमा प्राप्त नवीन ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए।
सम्मेलनमा पेट तथा आन्द्रा रोगको पहिचानसम्बन्धी विशिष्टीकृत उपकरण र प्रविधि, शल्यक्रिया विधि, उपचार पद्धतिलगायतका विषयमा विस्तृत छलफल हुने प्रा।डा।महेश खकुरेलले बताउनुभयो। विदेशकासमेत गरी करिब एक सय चिकित्सकले एकल एवम् संयुक्तरुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन भोलिसम्म चल्नेछ।
उनले वंशाणुगतसहित खानपान र वातावरण परिवर्तनका कारण पेटसम्बन्धी रोगको समस्या देखिने गरेको जानकारी दिँदै खानामा लापरवाही र सन्तुलित आहारका कारण अन्य रोगका तुलनामा पेटसम्बन्धी रोगबाट अत्यधिक मानिस प्रभावित हुने गरेको जानकारी दिए।