काठमाडौँ, १ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीविहीन बन्न पुगेको छ ।
न्याम्सका उपकुलपतिको मंगलबार र अन्य पदाधिकारीको कार्यकाल बुधबारबाट सकिएको छ ।
न्याम्सका पदाधिकारीहरु रेक्टर डाक्टर सुवोध अधिकारी, रजिष्ट्रार प्रमिला देवान र डिन डा पियुष दाहालको कार्यकाल पनि सकिएको हो ।
न्याम्सका पदाधिकारीको कार्यकाल सकिएसंगै उपकुलपतिका लागि चिकित्सकहरुको दौडधुप सुरु भएको छ ।
वीर अस्पतालका पूर्व निर्देशकद्धय डा.बुलन्द थापा र भुपेन्द्रकुमार बस्नेत उपकुलपति बन्नका लागि लागिपर्नुभएको छ ।
उहाँहरु राजनीतिक रुपमा नै उपकुलपतिका लागि लागिरहनुभएको छ ।
निमित्त उपकुलपतिका लागि पनि डा. बस्नेत लाग्नुभएको छ ।
डा.बुलन्द थापाले न्याम्समा उपकुलपतिका लागि आफू सक्षम भएको भन्दै माओवादीको माथिल्लो तहका नेताहरुसंग आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ भने डा. भुपेन्द्र कुमार बस्नेतले पनि आफू न्याम्सको उपकुलपतिका लागि योग्य रहेको तर्क सहित नेपाली काँग्रेसको माथिल्लो नेतृत्वसंग आफ्नो तर्क प्रस्तुत गर्नुभएको बुझिएको छ ।
डा.थापा नेकपा माओवादी निकट चिकित्सक मानिनुहुन्छ भने डा. बस्नेत नेपाली काँग्रेस निकट चिकित्सक हुनुहुन्छ ।
उहाँहरु उच्च राजनीतिक तहमा आफूलाई उपकुलपति बनाउनका लागि लागिरहनुभएको छ ।
यस्तै उपराष्ट्रपति निर्वाचन आचारसंहिताले निमित्त उपकुलपति तोक्न नमिल्ने तर्क पनि उठेको छ ।