• सोमबार, १५ भदौ २०८३
  • images

    बाल स्वास्थ्य सेवामा नयाँ आशाः किओचको अत्याधुनिक भवन हस्तान्तरण

    बाल स्वास्थ्य सेवामा नयाँ आशाः किओचको अत्याधुनिक भवन हस्तान्तरण

    भाटभटेनीका अध्यक्ष तथा समाजसेवी मिनबहादुर गुरुङले ७१ करोड सहयोगमा काठमाडौं बाल अस्पताल (किओच)को भवन निर्माण गरेको हो । 

    शनिबार, जेठ ९ २०८३
    शनिबार, जेठ ९ २०८३
    बाल स्वास्थ्य सेवामा नयाँ आशाः किओचको अत्याधुनिक भवन हस्तान्तरण

    काठमाडौँ, ९ जेठ ।  नेपालमा बाल स्वास्थ्य सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)  को नवनिर्मित पश्चिमतर्फको भवन शनिबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । 

    बूढानीलकण्ठ नगरपालिका–७, हेपाली हाइटस्थित अस्पताल परिसरमा आयोजित विशेष समारोहमा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले भवनको समुद्घाटन गर्नुभयो ।

    समाजसेवी तथा व्यवसायी मीनबहादुर गुरुङ–सावित्री गुरुङ तथा पहलमान गुरुङ–सरला गुरुङ परिवारले निर्माण गरिदिएको उक्त भवन निर्माणमा भाटभटेनी सुपरमार्केटले ७१ करोड ४ लाख ४२ हजार २४४ रुपैयाँ खर्च गरेको जनाएको छ ।

    यो भवन हस्तान्तरणलाई एउटा भौतिक संरचना निर्माणको रूपमा मात्र नभई नेपालमा बाल स्वास्थ्य सेवाको भविष्यसँग जोडिएको महत्वपूर्ण सामाजिक अभियानका रूपमा हेरिएको छ । विशेषगरी गरिब, विपन्न तथा ग्रामीण क्षेत्रका बालबालिकालाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित किओचले अघि सारेको योजनामा यस भवनले ठूलो आधार तयार गर्ने विश्वास गरिएको छ ।

    कार्यक्रममा किओचका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइरालाले नेपालमा बाल स्वास्थ्य सेवाको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले किओचलाई अस्पताल मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको अभियानका रूपमा अघि बढाइएको बताउनुभयो ।

    नेपालमा धेरै बालबालिका उपचारको अभावमा ज्यान गुमाइरहेका छन्, कोइरालाले भन्नुभयो,“विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका विशेषज्ञ उपचारबाट वञ्चित छन् । किओचको उद्देश्य उनीहरूलाई सर्वसुलभ, गुणस्तरीय र विशिष्टीकृत सेवा उपलब्ध गराउनु हो ।”

    डा. कोइरालाले अस्पताललाई गैरनाफामूलक मोडेलमा सञ्चालन गरिने स्पष्ट पार्दै स्वास्थ्य सेवा व्यापारको विषय नभई मानवीय दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।

    उहाँका अनुसार काठमाडौँमा आधुनिक बाल अस्पताल स्थापना गर्ने योजनासँगै सातवटै प्रदेशमा बाल अस्पताल सञ्जाल विस्तार गर्ने काम तीव्र रूपमा अघि बढिरहेको छ । हामी केन्द्रमा मात्र सीमित रहन चाहँदैनौँ, कोइरालाले थप्नुभयो,“ दूरदराजका बालबालिकाले पनि गुणस्तरीय सेवा पाउनुपर्छ, भन्ने स्थापित गर्न सातै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्नेछौँ ।”

    भाटभटेनीका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङले व्यवसायबाट प्राप्त उपलब्धिलाई समाजसेवामा रूपान्तरण गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।

    व्यापार गरेर कमाएको धन समाजमै फर्कनुपर्छ भन्ने हाम्रो विश्वास हो, उहाँले थप्नुभयो,“ विशेषगरी बालबालिकाको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा योगदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।”

    गुरुङले नेपालमा अझै धेरै परिवार आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेको अवस्था उल्लेख गर्दै किओचले गरिब नागरिकलाई आशा दिने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले अस्पताल निर्माणलाई दान मात्र नभई दीर्घकालीन सामाजिक लगानीको रूपमा व्याख्या गर्नुभयो ।

    यो भवन केवल इँटा र सिमेन्टको संरचना होइन, हजारौँ बालबालिकाको जीवनसँग जोडिएको आशाको घर हो,” उहाँले भन्नुभयो ।

    समारोहमा प्रमुख अतिथि जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले मानव सेवाभन्दा ठूलो धर्म अर्को नभएको उल्लेख गर्दै बालबालिकाको उपचारका लागि समर्पित अस्पताल निर्माणलाई पुण्य कार्यको संज्ञा दिनुभयो ।
    जहाँ करुणा हुन्छ, त्यहाँ ईश्वरको वास हुन्छ । उहाँले बालबालिकाको जीवन बचाउने प्रयास मानवताको सबैभन्दा ठूलो साधना भएको बताउनुभयो । 


    उहाँले समाजमा धन आर्जनसँगै सामाजिक उत्तरदायित्व पनि आवश्यक रहेको बताउँदै निजी क्षेत्रले शिक्षा र स्वास्थ्य क्षेत्रमा यस्ता योगदान बढाउनुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालमा अझै धेरै नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै किओचजस्ता संस्थाले राज्यलाई सहयोग पुर्‍याउने बताउनुभयो ।

    उहाँले बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिँदै गरिब र पिछडिएका समुदायका बालबालिकाले सहज उपचार पाउने वातावरण निर्माण हुन थालेको बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार