काठमाडौं, १३ जेठ । अटोइम्युन रोगहरूको उपचारमा प्रयोग हुने ‘टोफासिटिनिब’ ट्याबलेटको बजार मूल्यमा उल्लेखनीय अन्तर देखिएपछि औषधि व्यवस्था विभागले मूल्य समायोजन गर्न निर्देशन दिएको छ ।
मूल्य समायोजनको जानकारी विभागमा दिन निर्देशन दिएको हो ।
एउटै जेनेरिक नाम र समान क्षमता भएका औषधिहरू विभिन्न कम्पनीले अत्यधिक फरक मूल्यमा बिक्री गरिरहेको पाइएको भन्दै विभागले सम्बन्धित आयातकर्ता तथा स्वदेशी उत्पादक कम्पनीहरूलाई मूल्य पुनरावलोकन गर्न निर्देशन दिएको हो ।
विभागले हालै जारी गरेको पत्रमार्फत एलोपेथिक औषधि आयात गर्ने तथा उत्पादन गर्ने सम्पूर्ण कम्पनीलाई समान प्रकृतिका औषधिको मूल्य निर्धारणमा देखिएको अस्वाभाविक अन्तरबारे समीक्षा गर्न र त्यससम्बन्धी विवरण विभागमा पेश गर्न आग्रह गरेको छ ।
विभागका अनुसार बजारमा उपलब्ध टोफासिटिनिब ट्याबलेटमध्ये समान क्षमता भएका १० वटा चक्कीको एक ब्रान्डको मूल्य २९० रुपैयाँ रहेको छ भने अर्को ब्रान्डको मूल्य ७०० रुपैयाँसम्म पुगेको पाइएको छ । यसरी एउटै रोगको उपचारमा प्रयोग हुने औषधिमा ४१० रुपैयाँसम्मको मूल्य अन्तर देखिनु उपभोक्ता हितका दृष्टिले गम्भीर विषय भएको विभागको निष्कर्ष छ ।
टोफासिटिनिब मुख्यतः रुमेटोइड आर्थराइटिस, सोरियाटिक आर्थराइटिस, अल्सरेटिभ कोलाइटिसलगायत अटोइम्युन रोगहरूको उपचारमा प्रयोग हुने औषधि हो । दीर्घकालीन रूपमा सेवन गर्नुपर्ने भएकाले यसको मूल्यले बिरामीको उपचार पहुँच र आर्थिक भारमा प्रत्यक्ष असर पार्ने चिकित्सकहरूको भनाइ छ ।
औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्काद्वारा जारी पत्रमा औषधिको मूल्यमा देखिएको अत्यधिक अन्तरले उपभोक्ताको उपचार पहुँचमा असर पार्नुका साथै निष्पक्ष बजार प्रतिस्पर्धा र नैतिक व्यावसायिक अभ्याससमेत प्रभावित हुन सक्ने उल्लेख गरिएको छ ।
पत्रमा उत्पादन लागत, गुणस्तर, जनस्वास्थ्य हित तथा जिम्मेवार व्यावसायिक अभ्यासलाई आधार मानी औषधिको मूल्य निर्धारण गर्न कम्पनीहरूलाई आग्रह गरिएको छ । साथै अनावश्यक मूल्य अन्तर घटाउन आवश्यक कदम चालेर त्यससम्बन्धी विवरण यथाशीघ्र विभागमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार नेपालमा एउटै जेनेरिक औषधि विभिन्न कम्पनीले फरक–फरक ब्रान्ड नाममा बिक्री गर्ने प्रवृत्ति लामो समयदेखि रहँदै आएको छ । तर समान गुणस्तर र समान क्षमताका औषधिमा अत्यधिक मूल्य अन्तर हुँदा बिरामी अन्योलमा पर्ने तथा महँगो औषधि नै गुणस्तरीय भन्ने भ्रम सिर्जना हुने गरेको उनीहरूको भनाइ छ ।
