काठमाडौं, १२ जेठ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पुनः डा. श्रीकृष्ण गिरीलाई दिइएको छ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले अर्को व्यवस्था नभएसम्मका लागि डा. गिरीलाई आयोगको उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको हो।
जिम्मेवारी प्राप्त गरेसँगै डा. गिरीले मंगलबारदेखि आयोगमा हाजिर भई औपचारिक रूपमा कार्यभार सम्हाल्न सुरु गर्नुभएको छ।
उहाँले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभयो।
अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी पाएको छु । जति समय रहन्छु, राम्रो काम गरेर जाने प्रयास गर्नेछु, उहाँले भन्नुभयो।
सरकारले गत महिना सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित विभिन्न पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद रिक्त रहँदै आएको थियो।
डा. गिरी चिकित्सा शिक्षा आयोगका पहिलो उपाध्यक्षसमेत हुनुहुन्छ। आयोग स्थापना पश्चात प्रारम्भिक संरचना निर्माण, नीति कार्यान्वयन तथा चिकित्सा शिक्षाको नियमनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मानिन्छ।
आयोगमा पदाधिकारी रिक्त भएपछि विभिन्न प्रशासनिक तथा नीतिगत काम प्रभावित हुँदै गएको अवस्थामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले केही भर्ना तथा शैक्षिक प्रक्रिया ऐनविपरीत ढंगले अघि बढाएको भन्दै वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले सोमबार आपत्ति जनाउनुभएको थियो।
उहाँले आयोगमा नेतृत्व अभावका कारण चिकित्सा शिक्षा क्षेत्र अन्योलतर्फ धकेलिएको उल्लेख गर्दै तत्काल सुधारका कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको थियो।
उहाँले आयोगको कामलाई निरन्तरता दिन पूर्व पदाधिकारीमध्ये कसैलाई उपाध्यक्षको जिम्मेवारी दिनुपर्ने मागसमेत उहाँले अघि सार्नुभएको थियो।
यसैबीच डा. गिरीलाई पुनः जिम्मेवारी दिइएपछि आयोगका नियमित काम, नीतिगत निर्णय तथा भर्ना प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।