• आइतबार, ८ कात्तिक २०८३
  • images

    दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ कार्यक्रम, कात्तिक १७ र १८ गते खुवाइने

    दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ कार्यक्रम, कात्तिक १७ र १८ गते खुवाइने

    आइतबार, कात्तिक ८ २०८३
    आइतबार, कात्तिक ८ २०८३
    दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ कार्यक्रम, कात्तिक १७ र १८ गते खुवाइने

    काठमाडौँ, ८ कात्तिक । दसैँ बिदाका कारण नियमित तालिकामा सञ्चालन हुन नसकेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले दसैँ बिदाका कारण कार्यक्रमको मिति परिवर्तन गर्नुपरेको जानकारी दिनुभयो ।

    images

    डा. गौतमका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

    यसअघि पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका थियो । दसैँको सार्वजनिक बिदा परेपछि बालबालिकालाई औषधि खुवाउने कार्यक्रम दुई साता पछाडि सारिएको हो ।

    सरकारले बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन तथा जुकाको सङ्क्रमणबाट हुन सक्ने स्वास्थ्य समस्याको जोखिम घटाउन हरेक वर्ष कात्तिक र वैशाखमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको ज्योति जोगाउन र रोगसँग लड्ने क्षमता कायम राख्न सहयोग गर्छ । त्यस्तै, जुकाको सङ्क्रमणले बालबालिकाको पोषण तथा शारीरिक विकासमा असर पार्न सक्ने भएकाले निर्धारित उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउनु आवश्यक हुन्छ ।

    डा. गौतमले अभिभावकलाई निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गर्नुभएको छ ।

    सरकारले महिला स्वास्थ्य स्वयंसेविकामार्फत देशभरका लक्षित बालबालिकालाई निःशुल्क औषधि खुवाउने व्यवस्था मिलाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार