विदेशिँदै गएका सन्तान र रित्तिँदै गएका घरबीच दसैँ अब धेरै बाबुआमाका लागि पुनर्मिलनको होइन, प्रतीक्षाको चाड बनेको छ । मनोविज्ञानले यस पीडालाई ‘रित्तो गुँड लक्षण’ भन्छ ।
घटस्थापनाको बिहान आमाले बालुवामा जौ छरिन् । हरेक वर्षझैँ यस वर्ष पनि उनले मनमनै गनिन् । फूलपातीसम्म जमरा कति हुर्किन्छ, नवमीसम्म कति पहेँलो हुन्छ र दशमीको दिन कसको कानमा जमरा सिउरिन्छ । जमरा त समयमै उम्रियो, तर जसको निधारमा टीका लगाउने हो, ती सन्तान भने आएनन् । दशमीको दिन आमाले रातो टीका मुछिन्, तर अगाडि राखिएको मोबाइलको पर्दामा मात्र निधार देखियो । ‘आमा, यो वर्ष पनि आउन सकिनँ, अर्को वर्ष पक्का आउँछु’ भन्ने वाक्य फेरि दोहोरियो । नेटवर्क कट्यो, पर्दा कालो भयो, र घरमा फेरि उही मौनता छायो ।
यो कुनै एउटा घरको कथा होइन । पहाडका गाउँदेखि राजधानीका बहुतले घरसम्म आज लाखौँ बाबुआमा यही अनुभूतिसँग दसैँ मनाइरहेका छन् । कुनै बेला आँगनभरि दौडिने छोराछोरी, पिङमा चिच्याउने नातिनातिना र भान्सामा हाँसोठट्टा गर्ने परिवार अहिले तस्बिरमा मात्र भेला हुन्छन् । बाबुले यस वर्ष पनि खसी किने, आमाले सेल रोटी पकाइन्, तर थालमा खाना पस्किँदा उनीहरूलाई थाहा थियो, यो सबै आफैँले मात्र खानुपर्छ ।
रित्तो गुँड लक्षण के हो ?
छोराछोरी हुर्केर अध्ययन, रोजगारी वा विवाहका कारण घर छाडेपछि बाबुआमामा उत्पन्न हुने जटिल भावनात्मक अवस्थालाई मनोविज्ञानमा ‘रित्तो गुँड लक्षण’ ९झ्उतथ ल्झकत क्थलमचयभ० भनिन्छ । चराले चल्लालाई खुवाई पियाई हुर्काउँछ, उड्न सिकाउँछ र एक दिन ती चल्ला उडेर जान्छन् । गुँड रित्तो हुन्छ, तर गुँड बनाउने चराको मन भने त्यहीँ अड्किरहन्छ ।
मनोविज्ञहरूका अनुसार यो चिकित्सकीय रूपमा निदान गरिने रोग होइन, तर यसलाई सामान्य ठानेर बेवास्ता गर्न पनि मिल्दैन । यो एक प्रकारको शोक हो, जसमा कोही बितेको हुँदैन, तर जीवनको एउटा अध्याय सकिएको हुन्छ ।
बाबुआमाको परिचय वर्षौँसम्म सन्तानको वरिपरि घुमिरहेको हुन्छ । बिहान टिफिन बनाउनु, विद्यालयसम्म लैजानु, गृहकार्य हेर्नु, बिरामी पर्दा रातभरि जाग्राम बस्नु, यिनै कामले जीवनलाई अर्थ दिइरहेका हुन्छन् । एक्कासि यी जिम्मेवारी हराउँदा ‘अब म के गरूँ ?’ ‘मेरो आवश्यकता कसलाई छ ?’ जस्ता प्रश्न मनमा उठ्न थाल्छन् । नेपाली समाजमा सन्तानलाई बुढेसकालको सहारा मानिने भएकाले यो अनुभूति झन् गहिरो हुन्छ । पश्चिमी मुलुकमा सन्तान प्रायः उच्च शिक्षाका लागि घर छाड्दा यो अवस्था देखिन्छ भने हाम्रोमा सन्तान घरबाट मात्र होइन, देशबाटै टाढिने भएकाले यसको स्वरूप अझ लामो र पीडादायी बनेको छ ।
यो अवस्था मन र शरीर दुवैमा देखिन सक्छ । धेरैजसो बाबुआमा यसका सङ्केतलाई ‘उमेरले गर्दा होला’ भनेर पन्छाउँछन्, तर मनको पीडा कहिलेकाहीँ शरीरमार्फत बोलिरहेको हुन्छ ।
रित्तो गुँड लक्षणका सङ्केत:
मनमा देखिने
- उदासी, शोक र रित्तोपनको अनुभूति
- एक्लोपन र आफूलाई बेवास्ता गरिएको महसुस
- सन्तानको सुरक्षाबारे अत्यधिक चिन्ता र डर
- अपराधबोध, असहायपन र चिडचिडापन
- पहिले रमाइलो लाग्ने काममा पनि मन नलाग्नु
शरीरमा देखिने
- निद्रा नलाग्ने वा अत्यधिक सुत्ने
- भोक घट्ने वा बढ्ने
- आराम गर्दा पनि थकाइ लाग्ने
- बारम्बार टाउको दुख्ने र पेटसम्बन्धी समस्या
कसलाई बढी असर पर्छ ?
सबै बाबुआमामा यसको असर उस्तै हुँदैन । एकमात्र सन्तान भएका, सन्तानको प्रमुख वा एकल स्याहारकर्ता रहेका, बालबच्चाको हेरचाहबाहेक अन्य जिम्मेवारी कम भएका, साथीभाइ र सामाजिक सम्बन्ध कमजोर भएका, एकल वा जीवनसाथीसँग सम्बन्ध तनावपूर्ण रहेका बाबुआमामा यसको जोखिम बढी हुन्छ । रजोनिवृत्तिको समयबाट गुज्रिरहेका आमाहरू, पहिल्यै मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्ति र जीवनमा अन्य ठूला परिवर्तन वा क्षति भोगिरहेकाहरू पनि बढी प्रभावित हुन सक्छन् । सन्तान जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेको अवस्थामा बाबुआमाको चिन्ता झन् बढ्छ, जुन खाडी मुलुकमा सन्तान पठाएका धेरै नेपाली परिवारको यथार्थ हो ।
दसैँमा किन झन् दुख्छ ?
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पुनः श्रम स्वीकृतिसहित ७ लाख ९२ हजार १ सय ८७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसको अर्थ हरेक दिन औसत दुई हजारभन्दा बढी नेपाली विदेशिइरहेका छन् । यस सङ्ख्यामा अध्ययनका लागि जाने हजारौँ विद्यार्थी र भारतमा श्रम गर्न जानेहरू समावेश छैनन् । अर्कातर्फ राष्ट्रिय जनगणना २०७८ अनुसार देशमा ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको सङ्ख्या २९ लाख ७७ हजारभन्दा बढी छ, जुन कुल जनसङ्ख्याको १०.२१ प्रतिशत हो । एकातिर युवा बाहिरिँदै छन्, अर्कातिर घरमा बस्नेहरूको उमेर बढ्दै छ ।
वर्षका अरू महिना बाबुआमा खेतीपाती, घरधन्दा र मन्दिर पौवामा आफूलाई व्यस्त राख्छन् । तर दसैँ फरक हो । यो चाड नै परिवार भेला हुने आधारमा बनेको छ । छिमेकीको आँगनमा परदेशबाट फर्केका छोराछोरीको हाँसो गुन्जिँदा, बसपार्कमा झोला बोकेर घर फर्कनेहरूको भीड टेलिभिजनमा देखिँदा आफ्नो घरको मौनता झन् चर्को सुनिन्छ । भिडियो कलमार्फत टीका लगाउने चलनले परम्परा त जोगाएको छ, तर आमाको काँपेको हातको स्पर्श, बुबाको आशीर्वादको स्वर र सँगै बसेर खाएको खानाको न्यानोपन कुनै पर्दाले दिन सक्दैन ।
एउटै छानामुनि पनि दूरी
रित्तो गुँड सधैँ विदेश जानेहरूले मात्र सिर्जना गर्दैनन् । सहरका धेरै घरमा परिवार एउटै छानामुनि बसे पनि मनहरू टाढा भइसकेका छन् । बाबुआमा कामबाट अबेर फर्कन्छन्, छोराछोरी मोबाइलमा व्यस्त हुन्छन्, खाना पनि छुट्टाछुट्टै कोठामा खाइन्छ । देशभित्रै अर्को सहरमा पढ्ने वा काम गर्ने सन्तान चाडमा एक दुई दिनका लागि मात्र आउँछन् र फेरि हतारमा फर्किन्छन् । भावनात्मक दूरीका लागि सधैँ हवाईजहाज चढ्नु पर्दैन ।
बालबालिका र परदेशका सन्तानको पीडा
यस अवस्थाको मार बालबालिकामा पनि परेको छ । शिक्षण क्षेत्रमा काम गर्ने क्रममा आमा वा बुबा, कतिपय अवस्थामा दुवै जना विदेशमा रहेका विद्यार्थीसँग नियमित भेट हुन्छ । उनीहरू हजुरबा हजुरआमाको काखमा हुर्किरहेका छन्, जो आफैँ पनि एक्लोपनसँग जुधिरहेका हुन्छन् । दसैँमा साथीहरू आमाबुबाको हात समातेर मामाघर जाँदा यी बालबालिका भने अर्कै समय क्षेत्रबाट आउने एउटा फोनको प्रतीक्षामा बस्छन् । उनीहरू आफ्नो पीडा शब्दमा भन्न सक्दैनन्, तर बिदापछि कक्षाकोठामा देखिने मौनता र पढाइमा घट्दो एकाग्रताले सबै कुरा भनिदिन्छ ।
परदेशमा रहेका सन्तान पनि खुसी छैनन् । धेरैले चाडमा बिदा पाउँदैनन्, कतिपय विदेश जाँदा लिएको ऋण तिर्न रातदिन खटिरहेका हुन्छन् । घरमा भेला भएको परिवारको तस्बिरमा आफू नदेखिँदा उनीहरूको मनमा पनि अपराधबोध र छटपटी हुन्छ । फोनको एकातिर टीका लगाउन नपाएकी आमा हुन्छिन्, अर्कातिर टीका थाप्न नपाएको सन्तान । पीडा दुवैतिर उत्तिकै छ ।
बाबुआमाले के गर्न सक्छन् ?
रित्तो गुँड लक्षणलाई पूर्ण रूपमा रोक्न नसकिए पनि यसको असर कम गर्न सकिन्छ । मनोविज्ञहरूले सुझाएका केही व्यावहारिक उपाय यस्ता छन् ।
पहिलो, परिवर्तनलाई स्वीकार गर्नुहोस् । सन्तान जाने कुरालाई नकार्दा पीडा झन् अचानक र गहिरो हुन्छ । पहिल्यै मानसिक रूपमा तयार हुँदा भावनालाई बिस्तारै पचाउन सजिलो हुन्छ । अभिभावकत्व सकिएको होइन, केवल यसको स्वरूप फेरिएको हो ।
दोस्रो, आफ्नो उपलब्धिलाई सम्मान गर्नुहोस् । आफ्नै खुट्टामा उभिन सक्ने, संसारका जुनसुकै कुनामा गएर बाँच्न सक्ने सन्तान हुर्काउनु सानो कुरा होइन । त्यो सफलता उनीहरूको मात्र होइन, तपाईंको पनि हो ।
तेस्रो, भावना नलुकाउनुहोस्, तर सन्तानमाथि बोझ नबनाउनुहोस् । ‘तिमीलाई सम्झिरहन्छु’ भन्नु स्वाभाविक हो, तर सन्तानलाई दोषी महसुस गराउनु उचित हुँदैन । ‘किन फोन गरेनौ’ भन्नुभन्दा हप्ताको निश्चित दिन र समय कुरा गर्ने सहमति गर्नु राम्रो हुन्छ ।
चौथो, जीवनसाथीलाई समय दिनुहोस् । सन्तान हुर्काउने क्रममा धेरै दम्पतीले एकअर्कालाई बिर्सेका हुन्छन् । अहिले सँगै बिहान हिँड्ने, तीर्थ जाने र पुराना साथी भेट्ने अवसर हो । एकअर्काको भावनाको सम्मान गर्नुहोस्, किनकि दुवैले यो पीडा फरक तरिकाले भोगिरहेका हुन सक्छन् ।
पाँचौँ, मनलाई अर्थपूर्ण काममा लगाउनुहोस् । सामाजिक सेवा, ज्येष्ठ नागरिक समूह, भजनमण्डली, करेसाबारी, पठन वा नयाँ सीप सिकाइले दिनलाई उद्देश्य दिन्छ । मानिसको सङ्गत मनका लागि सबैभन्दा राम्रो औषधि हो ।
छैटौँ, सोच्ने तरिका बदल्नुहोस् । ‘मेरो गुँड रित्तो भयो’ भन्नुभन्दा ‘मेरो जीवनको नयाँ अध्याय सुरु भयो’ भनेर सोच्न सकिन्छ । सन्तानसँगको सम्बन्ध अब अझ मित्रतापूर्ण र गहिरो बन्न सक्छ ।
सातौँ, शरीरको ख्याल गर्नुहोस् । नियमित खाना, पर्याप्त निद्रा, हल्का व्यायाम र समयमै स्वास्थ्य परीक्षणले मनलाई पनि बलियो बनाउँछ ।
परदेशमा रहेका सन्तानले के गर्न सक्छन् ?
बाबुआमाको एक्लोपन कम गर्ने जिम्मेवारी सन्तानको पनि हो । फोन गर्दा ‘खाना खानुभयो ?’ मा मात्र सीमित नहुनुहोस्, उनीहरूको दिनचर्या, स्वास्थ्य र मनको कुरा सोध्नुहोस् । आफ्नो जीवनका साना खुसी, तस्बिर र भिडियो उनीहरूसँग बाँड्नुहोस् । बिदाको योजना पहिल्यै बनाउनुहोस् र कम्तीमा केही वर्षको अन्तरालमा भए पनि दसैँमा घर फर्कने प्रयास गर्नुहोस् । गाउँमा रहेका आफन्त वा छिमेकीसँग सम्पर्क राख्नुहोस्, ताकि आवश्यक परेको बेला बाबुआमाको नजिक कोही होस् ।
कहिले विशेषज्ञको सहयोग लिने ?
सन्तान टाढिँदा केही समय उदास हुनु स्वाभाविक हो । तर उदासी हप्तौँसम्म कम नभएमा वा झन् बढ्दै गएमा, दैनिक काम गर्न कठिन भएमा, बिनाकारण रुन आउने वा अत्यधिक रिस उठ्ने भएमा, मानिसहरूबाट टाढिन थालेमा, ध्यान केन्द्रित गर्न नसकिएमा वा परिवारले व्यवहारमा परिवर्तन आएको भनेमा यो साधारण एक्लोपनभन्दा गम्भीर अवस्था हुन सक्छ । यस्तो बेला डिप्रेसन वा चिन्ताजन्य समस्या हुन सक्ने भएकाले चिकित्सक, मनोचिकित्सक वा मनोविमर्शकर्तासँग परामर्श लिनुहोस् । मनको उपचार खोज्नु कमजोरी होइन, आफू र परिवारप्रतिको जिम्मेवारी हो ।
समाज, विद्यालय र राज्यको दायित्व
छिमेकीले एक्लै बस्ने वृद्धवृद्धालाई आफ्नो घरमा टीका लगाउन बोलाउन सक्छन् । वडा कार्यालय र स्थानीय संघसंस्थाले ज्येष्ठ नागरिकका लागि सामूहिक दसैँ भेटघाट आयोजना गर्न सक्छन् । विद्यालयले चाडबाडपछि आप्रवासी परिवारका बालबालिकाको व्यवहारप्रति सजग रहनुपर्छ र हजुरबा हजुरआमालाई चिठी लेख्ने वा परदेशका आमाबुबालाई सन्देश रेकर्ड गर्ने जस्ता क्रियाकलापमार्फत उनीहरूलाई भावना व्यक्त गर्ने अवसर दिनुपर्छ । राज्यले वैदेशिक रोजगारीलाई रेमिट्यान्सको स्रोतका रूपमा मात्र नहेरी यसले परिवारमा पारेको भावनात्मक मूल्यलाई पनि नीतिमा समेट्नुपर्छ । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, समुदायमा आधारित मनोसामाजिक परामर्श र स्थानीय तहमा सुलभ मानसिक स्वास्थ्य सेवा अब विलासिता होइन, आवश्यकता बनिसकेका छन् ।
अन्त्यमा
दसैँ फर्कने चाड हो । यसको सार मीठा परिकार र नयाँ लुगामा होइन, ठूलाबडाले निधारमा रातो टीका लगाएर ‘आयुष्मान् भव’ भन्ने त्यो क्षणमा छ । त्यो आशीर्वाद आज पनि दिइन्छ, कहिले एउटै कोठाबाट, कहिले महादेशपारिबाट । यो दसैँमा परदेशमा रहेका सबै सन्तानलाई एउटै अनुरोध छ, आज एकपटक आमाबुबालाई फोन गर्नुहोस्, र ‘आशीर्वाद दिनुहोस्’ मात्र होइन, ‘तपाईंलाई कस्तो छ ?’ पनि सोध्नुहोस् । घरमै रहेकाहरूलाई पनि अनुरोध छ, छिमेकको त्यो घरतिर एकपटक हेर्नुहोस्, जहाँ यस वर्ष कोही फर्केन । कतै कुनै आमा अझै पनि मोबाइल समातेर, सुकेको जमरा हेरेर, आफ्नो रित्तो गुँडमा कसैको पाइला कुरिरहेकी हुन सक्छिन् ।
सम्झना चौलागाईं मिड भ्याली स्कुल, काठमाडौँमा शैक्षिक संयोजकको रुपमा कार्यरत हुनुहुन्छ ।