काठमाडौँ, २८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले झन्झटिलो खरिद प्रक्रियाका कारण स्वास्थ्य मन्त्रालय अन्र्तगतका कर्मचारीहरुले मुद्धा खेप्नु परेको बताउनुभएको छ ।
उहाँले झन्झटिलो औषधि खरिद प्रक्रियालाई सुधार्दै सरकारले सिधै उत्पादक कम्पनीसंग औषधि खरिद गर्ने योजना सुनाउनुभयो ।
औषधी खरीद प्रक्रियालाई छरितो बनाई सुलभ दरमा सर्वसाधारणलाई उपलव्ध गराउने योजना अघि सारेको बताउनुभयो ।
उनले सो योजना अन्तर्गत उत्पादन गर्ने स्वदेशी कम्पनीसंग अस्पतालले सोझै बल्कमा औषधी खरीद गर्ने र त्यसबापत कम्पनीहरुले मूल्यमा सहुलियत प्रदान गर्ने उहाँले बताउनुभयो ।
नेपाल औषधी उत्पादक संघ (एपोन)को आयोजनामा भएको नेपाल फर्मा एक्स्पो २०२६ को बिहिबार उद्घाटन गर्ने क्रममा मन्त्री डा गौतमले सरकारले गुणस्तरीय औषधी स्वदेशी उद्योगहरुसंग सोझै खरीद गरेको अवस्थामा मूल्यमा पनि सहुलियत हुने बताउनुभयो ।
उहाँले कम्पनीले मार्केटिङका लागि थप लगानी गर्न नपर्ने भन्दै उहाँले बीचको स्टकिष्ट तथा थोक विक्रेताको आवश्यकता पनि नहुने प्रष्ट पार्नुभयो ।
मन्त्री डा गौतमले स्वदेशी औषधी उद्योगलाई सहयोग गर्न राज्यका तर्फबाट सोझै औषधी खरीद गर्न सकिने र त्यसले उद्योग तथा उपभोक्ता दुबैलाई फाइदा हुने बताउनुभयो ।
शर्माले एपोनका प्रतिनिधि तथा अन्य सरोकारवाला पक्षसंग पनि यस विषयमा कुरा गरेको जानकारी दिनुभयो ।
देशभर करीव ८८ वटा औषधी कम्पनी सञ्चालनमा छन् । तर कतिपय कम्पनीहरु बन्द हुने अवस्थामा पुगेको बताइन्छ । मन्त्री गौतमले सरकार र उद्योगबीचको सिधा खरीद प्रक्रियाले डुब्न लागेका कम्पनीहरुलाई पनि राहत हुने बताउनुभयो ।
मन्त्री शर्माले आयुर्वेद क्षेत्रको सम्भावनाबारे पनि चर्चा गर्दै कर्णाली र सुदूरपश्चिम क्षेत्रमा पाइने जडीबुटीका आधारमा आयुर्वेदिक अनुसन्धान तथा उत्पादन विस्तार गर्न सकिने बताउनुभयो ।
अर्को प्रसंगमा मन्त्री डा गौतमले औषधीको गुणस्तर जाँचका लागि राष्ट्रिय औषधी प्रयोगशालाको स्तरोन्नती गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता अभिबृद्धि गर्न निकै नै जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
यसले अहिले हाम्रो लक्ष्य अनुसारको काम गर्न सकिरहेको छैन । न आवश्यक जनशक्ति छ, न त आवश्यक प्रविधि र भवन नै । यी सबैलाई अबको केही वर्ष भित्रमै प्रश्न नउठ्ने गरी समाधान गर्ने छौँ ।’
उहाँले औषधीको गुणस्तरमा आफूले कुनै कम्प्रमाइज नगर्ने दाबी गर्नुभयो ।
नेपाल औषधी उत्पादक संघ (एपोन)का अध्यक्ष विप्लव अधिकारीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउने उद्योगको रुपमा औषधीलाई विकास गर्न सकिने भन्दै त्यसका लागि राज्यले समेत लगानी बढाउनु पर्ने बताउनुभयो । उहाँले कतिपयले स्वदेशी औषधीको गुणस्तरमा प्रश्न उठाउने गरेको प्रसंग झिक्दै गुणस्तरहिन औषधी हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
‘औषधी गुणस्तरहीन हुनै सक्दैन । यति गुणस्तरहिन हुन्थ्यो भने नागरिकको उपचारमा कसरी प्रयोग हुन्थ्यो । अहिले १४ वटा देशमा निर्यात हुन्छ, गुणस्तरहिन भएको भए निर्यात हुने थिएन, अधिकारीले भन्नुभयो ।
नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालले नेपालमा औषधीको धेरै सम्भावना रहेको भन्दै राज्यले उचित बातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो । उहाँले मेडिकल टुरिजम र आयुर्वेदिक औषधीको उत्पादनबाट देश समृद्ध हुन सक्ने भन्दे यस सोचेर अघि बढ्न समेत सरकार, उद्योगी र लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो ।