काठमाडौँ, ६ मंसिर । मधुमेह सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।
मधुमेह महासंघ दक्षिणपूर्वी एसियाको बार्षिक सम्मेलन काठमाडौँमा सुरु भएको हाृ ।
डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा विभिन्न देशबाट विज्ञहरुको सहभागिता रहेको छ ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डाइबेटिज इन्डोक्राइनोलोजी एशोसिएसन नेपालका अध्यक्ष डा अमित शाक्यले मधुमेहका क्षेत्रमा भएका नयाँ नयाँ उपलब्धी, उपचार प्रविधि तथा ज्ञान एक आपसमा आदानप्रदान गर्नका लागि सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
उहाँले यस्तो सम्मेलनमा हुने छलफलमा एक अर्काको देशमा भइरहेका उपचार, बिरामीको अवस्था तथा नयाँ नयाँ कुराको बारेमा जानकारी हुने र धेरै कुरा सिक्ने मौका मिल्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आइडीएफका अध्यक्ष डा वंशी सबोले साउथ इस्ट एशियामा मधुमेहको अवस्था उस्तै उस्तै रहेको बताउँदै यसलाई कम गर्न संयुक्त रुपमा गाइडलाइन्स बनाएर जान सकिने बताउनुभयो ।
उहाँले जीवनशैलीसँग सम्बन्धित यो रोगकाबारेमा जनचेतना र समयमै उपचार नै यसको मुख्य आधार भएको बताउनुभयो । आफनो खानपान र एक्सरसाइजमा मात्र ध्यान दिएमा धेरै हदसम्म मधुमेह कम गर्न सकिने बताउनुभयो।
आयोजक समितिकी अध्यक्ष डा डिना श्रेष्ठले सम्मेलनमा मधुमेह, मोटोपन, खानपान, मधुमेहले निम्त्याउने अन्य गम्भीर रोग र समस्या लगायतका विषयमा प्रस्तुतीकरण रहेको जानकारी दिनुभयो ।
आयोजक समितिका सचिव डा सन्तोष शाक्यले सम्मेलनमा यस क्षेत्रका २०० भन्दा बढी विज्ञ तथा चिकित्सकहरु सहभागी रहेको बताउनुभयो । आईडीएफ दक्षिण पूर्व क्षेत्रका सदस्यहरुमा नेपाल सहित बंगलादेश, भारत, माल्दिभ्स, मौरिसस र श्रीलङ्का गरी छ देश क्षेत्र समावेश छन्।
दक्षिण पूर्वी एसियामा तीब्र रुपमा बढ्दै मधुमेह, नेपालमा १२ लाख भन्दा बढी प्रभावित
यसैबीच दक्षिण पूर्वी एसिया क्षेत्रमा पछिल्लो समय मधुमेह रोगको उच्च जोखिम क्षेत्रको रुपमा परिणण हुँदै गएको देखिएको छ ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ ९आईडीएफ०का अनुसार विश्वभर हाल ५८ करोठ ९० लाख अर्थात ५८९ मिलियन मानिस मधुमेहसँग बाँचिरहेका छन् । त्यसमध्ये १० करोड ७० लाख अर्थात १०७ मिलियन मासिन दक्षिणपूर्वी एसिया क्षेत्रमा रहेका छन् । यहि अवस्था रहेमा सन् २०५० सम्ममा यो संख्या बढेर १८ करोड ५० लाख पुग्ने आइडीएफको अनुमान छ ।
आईडीएफ डाइबेटिक एटलस २०२४ का अनुसार नेपालमा १ करोड ९१ लाख १७ हजार ९०० बयस्क जनसंख्या छन् । ती मध्य १२ लाख ५९ हजार १०० जना बयस्क मधमेह भएको अनुमान गरिएको छ ।
डा श्रेष्ठका अनुसार शहरीकरणसंगै बदलिएको जीवन शैली, शारीरिक निस्क्रियता , असन्तुलित आहार, बढ्दो मोटोपनाका कारण नेपालमा मधुमेह बढ्दो देखिएको छ । अझ धेरै व्यक्तिहरु प्रि डायबेटिक अवस्थामा रहेर उपचारमा ढिलाई गर्ने प्रबृत्तिका कारण पनि जोखिम अझ बढाइरहेको चिकित्सकहरु बताउँछन् ।