काठमाडौँ । चिनी रोगका रूपमा चिनिने मधुमेह उमेर ढल्कदै गएपछि लाग्ने विश्वास गरिन्थ्यो तर वीर अस्पतालको मधुमेह बहिरङ्गमा दिनहँुजसो बालबालिका र युवासमेत मधुमेह उपचारकै लागि आउने गर्दछन् । दुइवर्ष देखि १५ वर्षसम्मका बालबालिकाहरू पनि वीर अस्पतालको मधुमेह एकाईमा आउने गरेकाछन् । यसले देखाउँछ अब चिनी रोग सबै उमेरका मानिसमा नछोड्ने रोग बनिसकेको छ ।
वीर अस्पतालका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले आफूले दुइ वर्षको बालकलाई समेत मधुमेह भएको जानकारी दिदै मधुमेह उमेर वृद्धिसँंगै हुन्छ भन्ने गलत धारणा फैलिरहेको बताउनुभयो । उहाँले ३० वर्ष कटिसकेपछि अनिवार्य मधुमेह भएनभएको परीक्षण गर्न सुझाव दिनुभयो । केही दिन महिले मैतीदेवी घर भएका एक १४ किशोर बालक मधुमेह लागेर उपचारमा वीर अस्पतालमा आउनुभएको थियो । उहाँ नियमित चिकित्सकको निगरानीमा हुनुहुन्छ । ९५ किलो तौल भएका १४ वर्षीय किशोर मधुमेहको औषधि सेवन गर्न थालेको दुइ वर्ष भइसक्यो । तर उहाँको त तौल घट्न सकेको छ न मधुमेह नै नियन्त्रणमा आउन सकेको छ ।
ती किशोरमात्र मात्र होइन वीर अस्पतालमा दुई वर्षको बालकसम्म मधुमेह लागेर आउने डा. मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मधुमेह लाग्ने मानिसको संख्यामा समेत वृद्धि हँुदै गएको छ । उमेर ढल्कँदै गएकामात्र होइन, बालबालिकादेखि युवासम्मलाई मधुमेहले सताउन थालेको छ । गलत खानपान र शहरी जीवनले मधुमेहको प्रमुख कारण बन्दै गएको छ ।
मधुमेह रोग विशेषज्ञ डा. मल्लले टाइप १ र टाइप २ गरी मधुमेह दुइ प्रकारका हुने जानकारी दिनुभयो । टाइप १ कम उमेरमा देखिन्छ भने टाइप २ विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुन्छ । टाइप २ मधुमेह जटिल हुँदै जाँदा इन्सुलिन लगाउनुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् ।
वरिष्ठ मधुमेहरोग विशेषज्ञ डा. ज्योति भट्टराईले कतिपय परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेको बताउनुभयो । उहाँले मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हँुदै गएको मधुमेहलाई रोक्न परिवारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. भट्टराईले बढी तौल भएका मानिसहरूमा सामान्य तौल भएका मानिसहरूभन्दा बढी मधुमेह देखिने गरेको जानकारी दिनुभयो । उहाँले धेरै चिन्ता गर्ने व्यक्तिलाई पनि मधुमेहले सताउन सक्ने भन्दै मधुमेहबाट जोगिनसके मिर्गौला रोग, मुुटुरोग, आँखा लगायतका रोगबाट बच्न सकिने बताउनुभयो । वातावरणीय प्रभाव, जंङ्कफुड खाने बानी, शहरीकरण खानाको तरिका नमिल्ने ,मोटोपन नै मधुमेह लाग्ने मुख्य कारकतत्व रहेको डा. भट्टराईको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेह समस्या छ । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीहरुलाई पनि हुनसक्ने बताउनुभयो । उहाँले अधिकांश मधुमेह रोगीहरूलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकोले समय समयमा स्वास्थ्य परीक्षण गरीरहन सुझाव दिनुभयो ।