काठमाडौं, १३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका स्वास्थ्यकर्मी परिचालन गर्ने बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
शुक्रबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग नियन्त्रणका लागि तीव्र ढंगले प्रयास भइरहेको भन्दै त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताउनुभयो ।
‘स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीका नर्स, डक्टर र उपकरणको प्रयोग गर्ने आजै मात्र मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ,र यस रोगलाई सकेसम्म छिटो नियन्त्रण गर्न, बिरामी निको पार्न र बढ्न नपाओस् भनेर तीव्र ढंगले प्रयास भएको छ ।’
उहाँले वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । यस रोगको स्रोत के हो, कहाँबाट यो फैलियो, यो कुनै ढलबाट, खानेपानीबाट, कुन स्रोतबाट रोग फैलियो भन्ने छानबिन भइरहेको छ,’उहाँले भन्नुभयो ।
‘ओलीले स्वास्थ्य मन्त्रालयको अगुवाइमा सकेसम्म रोक फैलिन नपाओस् तत्काल निदान गर्न सकिओस् र तत्काल उपचार गरेर निको पार्न सकिओस् र रोकथाम पूर्णरूपमा गर्न सकिओस् भन्ने कुरामा ध्यान गएको बताउनुभयो ।
उहाँले हैजा र झाडापखालाका औषधी सरकारले निःशुल्क उपलब्ध गराइरहेको जानकारी गराउनुभयो ।
नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीहरूको निःशुल्क उपचार भइरहेको बताउनुभयो ।
कोरोनाकालमा नेपाली सेनाले बनाएको अस्पताललाई प्रयोग गरेर उपचारको व्यवस्था मिलाउने प्रयास भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
वीरगञ्जमा अहिलेसम्म हैजा र झाडापखाला संक्रमित हुनेको संख्या ६२४ पुगेको र त्यसमध्ये ४३७ जना निको भएर घर फर्किएको जानकारी उनले संसदमा गराउनुभयो।
उहाँले अहिले पनि १८७ जना हैजा र झाडापखाला संक्रमित उपचाररत बताउनुभयो ।
वीरगञ्जमा पछिल्लो २४ घण्टामा मात्रै ८४ वटा हैजा र झाडापखालाका नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म वीरगञ्जमा हैजा र झाडापखाला लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ ।