• सोमबार, १५ भदौ २०८३
  • images

    भारतको धर्मस्थलमा सयौँ महिलाको शव गाडेको दाबी गर्ने व्यक्ति पक्राउ

    भारतको धर्मस्थलमा सयौँ महिलाको शव गाडेको दाबी गर्ने व्यक्ति पक्राउ

    आइतबार, भदौ ८ २०८२
    आइतबार, भदौ ८ २०८२
    भारतको धर्मस्थलमा सयौँ महिलाको शव गाडेको दाबी गर्ने व्यक्ति पक्राउ

    कनार्टक ८ भदौ। भारतको दक्षिणी राज्य कर्नाटकको धार्मिक सहर धर्मस्थलमा हालै एक व्यक्तिले गरेको सनसनीपूर्ण दाबीपछि ठुलो हङ्गामा भएको छ। 

    ती व्यक्तिले  विगतमा सयौँ महिलाहरूलाई बलात्कारपछि हत्या गरी आफूलाई जबरजस्ती गाड्न लगाइएको आरोप लगाएका थिए।

    धर्मस्थल, जहाँ शताब्दीयौँ पुरानो मञ्जुनाथ स्वामी मन्दिर रहेको छ, दैनिक हजारौँ भक्तजनहरूको आस्थाको केन्द्र हो। यही सहरमा यस्तो दाबी सार्वजनिक भएपछि स्थानीय समाज मात्र होइन, राज्यको राजनीतिक वृत्तमै विवाद चुलिएको थियो।

    यस घटनापछि राज्य सरकारले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको थियो। शनिबार बिहान एक एसआईटी अधिकारीले बीबीसीलाई बताए अनुसार उक्त व्यक्तिलाई ‘झूटो बयान’ दिएको आरोपमा पक्राउ गरिएको छ।

    सो व्यक्तिले यसअघि जुलाई महिनामा प्रहरीसमक्ष उजुरी दर्ता गरेका थिए र मजिस्ट्रेटसमक्ष बयान समेत दिएका थिए।


     उनले सन् १९९५ देखि २०१४ सम्म मन्दिरमा सफाइ कामदारको रूपमा काम गरेको र सो अवधिमा सयौँ किशोरी तथा युवतीलाई बलात्कारपछि हत्या गरी शव गाड्न बाध्य पारिएको दाबी गरेका थिए।

    उनले पाँचवटा कथित घटनाबारे विस्तृत बयान दिएका थिए भने अन्य धेरै घटनाहरूको पनि सङ्केत गरेका थिए। उनका अनुसार पीडितमध्ये केही नाबालक पनि थिए।

    मन्दिर प्रशासन र कर्मचारीलाई दोष लगाएको भए पनि उनले कसैको नाम भने खुलाएका थिएनन्। मन्दिर प्रमुखले यी सबै आरोपलाई ‘पूर्णतः झूटो र निराधार’ भन्दै खारेज गरेका छन्।

    अझै सनसनी फैलाउने गरी, मजिस्ट्रेटसमक्ष पुगेका बेला उनले आफ्नै ब्यागबाट एउटा मानव खोपडी निकालेर प्रमाणका रूपमा प्रस्तुत गरेका थिए। उनले त्यो आफूले गाडेको शवमध्येको भएको र हालसालै खनेर ल्याएको दाबी गरेका थिए।

    तर अहिले उनीमाथि नै झूटो बयान दिएको अभियोग लगाइएपछि घटनाको सत्यतथ्यबारे प्रश्न उठेको छ। एसआईटी ले थप अनुसन्धान जारी राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार