काठमाडौँ, १६ जेठ । मिर्गौला प्रत्यारोपित पेम्बा शेर्पाले विश्वको सबैभन्दा अग्लो सगरमाथाको आरोहण गरी विश्व रेकर्ड राख्न सफल हुनुभएको छ ।
उहाँले २०८२ साल वैशाख ३१ गते बुधबारका दिन सगरमाथाको आरोहण गर्नुभएको थियो ।
आरोही शेर्पालाई शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्याले सम्मान गरेको छ ।
शुक्रबार एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शेर्पालाई सम्मान गर्नुभयो ।
मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन गर्नुभयो ।
‘‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,“ मन्त्री पौडेलले भन्नुभयो ‘‘‘तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवर्धन दूतका रूपमा नियुक्त गर्ने छ ।”
मन्त्री पौडेलले अझै पनि मष्तिष्क मृत्यु पश्चात दान गरेर मानिसको ज्यान बचाउन सकिने भए पनि दाता पर्याप्त पाउन नसकिएको उदाहरण प्रस्तुत गर्नुहुँदै शेर्पाको आरोहणमार्फत सचेतना फैलाउन सकिने विश्वास गर्नुभयो ।
‘‘मष्तिष्क मृत्युपछि अङ्गदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं ।
उहाँले भन्नुभयो,‘यसले अङ्ग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ ।’’
स्वास्थ्य मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरूको स्वास्थ्य बिमा नभएको भन्दै उनीहरुको बिमाका लागि पहल गर्ने घोषणा समेत गर्नुभयो ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले शेर्पाले मिर्गौला प्रत्यारोपणपछि विश्वको सबैभन्दा अग्लो सगरमाथाको आरोहण गरेर अन्य प्रत्यारोपित व्यक्तिका लागि उत्प्रेरणा जगाएको बताउनुभयो ।
डा. श्रेष्ठले मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति पनि अरु स्वस्थ व्यक्ति जस्तै जस्तोसुकै काम पनि गर्न सक्छन् भन्ने सन्देश शेर्पाको सगरमाथा आरोहणबाट दिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री पौडेलले आरोही शेर्पाका धर्मपत्नी, दाई भाउजुलाई समेत खादा लगाएर सम्मान गर्नुभएको थियो । आरोही शेर्पाले आफ्नो ज्यान बचाउन डा. पुकारचन्द्र श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
डा. श्रेष्ठले मिर्गौला प्रत्यारोपितहरू पनि अन्य व्यक्ति सरह नै स्वस्थ हुनसक्ने सन्देश पेम्बाले सगरमाथा आरोहणले पुष्टि गरेको बताउनुभयो ।
उहाँले सगरमाथा चढ्ने बेलामा शेर्पाले आफूहरूसँग पनि परामर्श लिएको स्मरण गर्दै डा श्रेष्ठले आफूहरूले पनि आरोहणका लागि सहर्ष हौसला दिएको बताउनुभयो ।
‘प्रत्यारोपण गरेको करिब दुई वर्षमै ६११९ मिटर अग्लो लोबुचे चढ्नुभयो’, डा श्रेष्ठले भन्नुभयो,“हामीसँग पनि सल्लाह लिन आउनुभएको थियो । हामीले तपाईँलाई केही हुँदैन । अरू सरह नै हुनुहुन्छ, चढ्न सक्नुहुन्छ भनेका थियौँ ।
मन्त्रालयको कार्यक्रम पछि शेर्पालाई नगर परिक्रमा सहित भक्तपुर लगिएको थियो ।
आरोही शेर्पाले यस आरोहणले आफूमा साहस र आत्मविश्वास झनै बढेको बढाउनुभयो ।
‘‘मैले मिर्गौला प्रत्यारोपण गरेको दुई वर्षभित्रै आरोहण थालेको थिएँ ।,“ उहाँले भन्नुभयो,आफ्नो ज्यान बचाउने अस्पताललाई दिएको बाचा ज्यानको बाजी राखेर पूरा गरें ।’’
वैदेशिक रोजगारीका क्रममा मिर्गौला फेल भएको पत्ता लागे पछि स्वदेश फर्किएका शेर्पाले तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।
सन् २०२४ मार्च २२ मा लोबुचे हिमाल आरोहण गरेका शेर्पाले गत मे १४ मा सगरमाथा आरोहण गर्दै कीर्तिमान कायम गर्नुभएको हो ।
३७ वर्षीय शेर्पाले स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सुधारमा राम्रो काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।