काठमाडौँ, ४ चैत । सगरमाथालाई विश्वभर चिनाउने हलिउड चलचित्र निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधन भएको छ ।
अमेरिकाको म्यासाचुसेट्स निवासी ६८ वर्षीय ब्रेसियर्सको मार्च १४ मा घरमा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्रेसियर्सले पाँच पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘एभरेस्ट’ थ्रीडीका सहायक निर्माता र दोस्रो तहका छायांकार थिए । सन् १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति बनेका थिए ।
जलवायु परिवर्तनले हिमालयका हिमनदीमा पारेको प्रभावलाई सम्बोधन गर्न उनले गैरनाफामूलक संस्था ग्लेसियरवर्क्सको स्थापना गरेका थिए ।
१० मे १९९६ मा उनले एभरेस्ट डकुमेन्ट्री फिल्म छायांकन गर्दा खसेको हिमपहिरोले आठ जनाको मृत्यु भएको थियो । यो घटनापछि छायांकन समेत रोकिएको थियो । ‘एभरेस्ट’ थ्रीडीले १९९६ को उक्त दर्दनाक घटनाको कथा भन्छ । नेपाली हलमा समेत रिलिज भएको यो फिल्मले राम्रै कमाइ गरेको थियो । विश्वभर यसले १२० मिलियन डलर कमाएको थियो ।
सन् १९९८ को आइम्याक्स डकुमेन्ट्री ‘एभरेस्ट’बाट उनी विश्वचर्चित बने । आइम्याक्स डकुमेन्ट्री इतिहासमा यो सर्वाधिक कमाउने फिल्म बन्यो । आठ फिल्ममा काम गरेका उनले सगरमाथामाथि एभरेस्ट, स्टोर्म ओभर एभरेस्ट र एभरेस्ट डेथ जोनजस्ता फिल्म निर्माण गरे ।
ब्रेसियर्सको निधनमा नेपाली फिल्मकर्मी र पर्वतारोही समुदायले समेत सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । सन् २०१४ मा उनले काठमाडौंमा हिमालय पर्वतमा जलवायु परिवर्तनले पारेको असरबारेको फोटो प्रदर्शनी आयोजना गरेका थिए ।
आफ्नो फिल्म र प्रसारण संस्थाबाट उनले लाखौंलाई सगरमाथाबारे जानकारी दिएका छन् । उनले आफू सधैं सगरमाथाको निकट रहेको समेत बताउने गर्थे ।