काठमाडौं, १९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिनुभएको छ ।
आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग शुक्रवार स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई निर्वाह भत्ता नदिने कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिनुभयो ।
उहाँले सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको निर्णय नमान्ने हो भने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिनुभयो।
सरकारी सरह भत्ता दिने निर्णय भएको दुई महिना बितिसक्दा पनि कतिपयले अझै कार्यावन्यन नगरेको गुनासोसहित आवासीय चिकित्सकहरु अझै सडक आन्दोलनमा उत्रिएका छन्।
सोही गुनासोसहित आवासीय चिकित्सक र नेपाल चिकित्सक संघको टोली स्वास्थ्यमन्त्री पौडेलकहाँ पुगेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २०८१ साल माघ २५ गते बसेकोचिकित्सा शिक्षा आयोगको १६ औ पूर्ण बैठकले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ दिने निर्णय गरेको थियो। उक्त निर्णय भूतप्रभावी नहुने भन्दै निजी मेडिकल कलेजले कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन्।