काठमाडौँ, १९ चैत । म्यानमारमा गएको भूकम्पमा परी घाइतेहरुको उपचार गर्न नेपालले औषधी सहितको चिकित्सकको टोली पठाउने भएको छ ।
गत १५ चैतमा गएको विनासकारी भूकम्प पछि उद्धार तथा उपचारमा सहयोग गर्न नेपाली सेनाको चिकित्सकको टोली म्यानमार जान लागेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारका भूकम्पप्रभावितलाई सहयोग गर्न नेपाली सेनाको चिकित्सक सहितको टोली त्यस तर्फ पठाउने निर्णय गरेको हो ।
मित्रराष्ट्र म्यानमारमा गएको विकाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएको सन्दर्भमा सहयोग गर्ने निर्णय भएको छ’, बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भन्नुभयो ‘नेपाल सरकारको विभिन्न निकायसँग रहेका मौज्दात सामग्री एवम् निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त हुने मेडिकल इक्युपमेन्ट, औषधि लगायतका राहत सामग्री म्यानमार सरकारलाई प्रदान गर्ने निर्णय भएको छ ।’
नेपाल सरकारका विभिन्न निकायबाट सहयोग पठाउनका लागि अर्थ मन्त्रालयबाट तत्ततत् निकायमा सोबापत सोध भर्ना निकासा दिने निर्णय पनि भएको छ।
‘उक्त सामान नेपालबाट हवाइजहाजमार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थले वायुसेवा निगमलाई निकासा गर्ने निर्णय पनि भएको छ । यसैगरी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ जाने निर्णय भएको छ,मन्त्री गुरुङले भन्नुभयो ।
म्यानमारमा गत शुक्रबार गएको ७ दशमलब ९ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार ५६ पुगेको छ भने लगभग तीन हजार ९०० जना घाइते भएका छन् । अहिले पनि त्यहाँ लगभग २७० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद् सूचना टोलीले सोमबार जनाएको छ।
उता अमेरिकी भूगर्भ सर्वेक्षणले १० हजार भन्दा बढीको मृत्यु हुने सम्भावना बलियो भएको उल्लेख गरेको छ ।
अन्य ठूला प्राकृतिक प्रकोपहरू पछि नागरिक हताहतलाई कम उल्लेख गर्ने बर्मी सेनाले विदेशी पत्रकारहरूलाई देशमा प्रवेश गर्न नदिएको भन्दै पश्चिमी सञ्चारमाध्यमहरुले यर्थात विवरण नआएको हुनसक्ने आशंका गरेका छन् ।