• आइतबार, ८ कात्तिक २०८३
  • images

    अभिनेत्री मनिषा कोइराला ‘एचपिभी खोप’ अभियानको सद्भावना दूत नियुक्त

    अभिनेत्री मनिषा कोइराला ‘एचपिभी खोप’ अभियानको सद्भावना दूत नियुक्त

    बुधबार, माघ १६ २०८१
    बुधबार, माघ १६ २०८१
    अभिनेत्री मनिषा कोइराला ‘एचपिभी खोप’ अभियानको सद्भावना दूत नियुक्त


    काठमाडौँ, १६ माघ । सरकारले क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा अभिनेतृ मनिषा कोइरालालाई सद्भावना दूत नियुक्त गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको सद्भावना दूतका रूपमा २ वर्षको लागि ख्यातीप्राप्त कलाकार तथा सामाजिक अभियन्ता मनिषा कोइरालालाई नियुक्त गरेको हो ।

    images


    सद्भावना दूत सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोसन पोखरेल र अभियन्ता कोइरालाले बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभएको छ । 
    कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पुर्‍याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको जानकारी दिनुभयो । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीलाई एचपिभी खोप दिइने र ३० वर्षभन्दा माथिको उमेर समूहका कम्तीमा ९० प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार पाठेघरको मुखको क्यान्सर पहिचान भएका कम्तीमा ९० प्रतिशत महिलाको उपचार गरिने छ ।
    यस्तै अभिनेतृ कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गर्नुभयो । 

     

    खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उहाँले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

    सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदै छ ।

    एचपिभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ ।

    मन्त्रालयले यही माघ २२ गते ९विश्व क्यान्सर दिवसका० दिन खोप अभियानको सुरूआत गर्ने जनाएको हो । नेपालमा औसतमा हरेक दिन छ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र चार जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

    यो वर्ष देशव्यापी रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिँदै छ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार