काठमाडौं, ७ कात्तिक । काठमाडौं मेडिकल कलेजका इन्टर्न चिकित्सकले गरेको आन्दोलन तीन दिनका लागि स्थगित भएको छ।
एमबीबीएस अध्ययनमा लिएको अतिरिक्त शुल्क फिर्ताको मागसहित उनीहरु आन्दोलित थिए ।
बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित बसेको इन्टर्न चिकित्सकहरुको बैठकले कलेजलाई समस्या समाधानका लागि समय दिने भन्दै आन्दोलन स्थगित गरिएको हो ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख आचार्यले कलेजलाई समस्या समाधानका लागि केही दिनको समय दिएको जानकारी दिए । काठमाडौं विश्वविद्यालय अन्तर्गत ०७५÷७६ मा एमबीबीएस अध्ययन गरेका इन्टर्न चिकित्सकहरु कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नभएपछि विगत एक सातादेखि आन्दोलनमा उत्रिएका थिए। उक्त रकम फिर्ता गर्न शिक्षा मन्त्रालयले समेत निर्देशन दिइसकेको छ।
विभिन्न शीर्षकमा गरि ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम लिएकोमा कलेजले दुई लाख फिर्ता गर्ने बताएपनि उनीहरुले ४ लाख ९० लाख नै फिर्ता दिनुपर्ने माग राख्दै आएका छन्। केएमसीले ५० जना नेपाली विद्यार्थी र ४० जना विदेशी विद्यार्थीबाट तीन करोड ७१ लाख ७८ हजार चार सय अतिरिक्त शुल्क लिएको उनीहरुले बताएका छन्।