काठमाडौ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले मेडिकल कलेजहरुमा देखिएको समस्या प्रति सरकारको ध्यानाकर्षण गराउँदै मेडिकल शिक्षाका सबै समस्या तत्काल समाधान गर्न निर्देशन पनि दिएको छ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन निर्देशन दिएको छ ।
समितिका सभापति जयपुरी घर्तीले मेडिकल कलेजमा शुल्क बढी लिएको विवादलाई समाधान गर्दै बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारवाहीको दायरामा ल्याउन पनि निर्देशन दिनुभयो । नोबेल मेडिकल कलेज, काठमाडौ मेडिकल कलेज लगायतका मेडिकल कलेजहरुले पछिल्लो समय बिद्यार्थीहरुबाट विभिन्न बहानामा अतिरिक्त शुल्क माग गर्दै आएका छन्।
चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याव, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्क लाई बुझाउने भएकाले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएको हुनाले यी विषयमा थप शुल्क नलाग्ने भनेपनि कलेजहरुले भने आयोगको निर्देशनको पालना गरेका छैनन्। शिक्षण संस्थाको होस्टेल, मेश जस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने र काउन्सिल रजिष्ट्रेशनजस्ता शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने आयोगले बताइसकेको छ।