काठमाडौँ, २२ भदौ । स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताए।
डा गौतमका अनुसार सन् २०२४ को जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६८० मध्ये ४२ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएको छ। उनका कैलाली, चितवन, सर्लाही र सुनसरी जिल्लामा रोग सङ्क्रमणबाट छ जनाको मृत्यु भइसकेको छ । सामान्यतयाः लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखापर्छन् ।
सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ । 'यो ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम छ”, उनले भने, 'लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्दछन र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग लाग्छ ।' जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन ।
यसैगरी सरकारले सन् २०१६ बाट १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिँदै आएको छ । सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिने गरे पनि पछिल्लो समय सबै बालबालिकालाई उक्त खोप दिन सुरु गरिएको हो ।
शाखा प्रमुख डा गौतमले १२ महिनामा खोप लगाउन छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने बताए। जापानिज इन्सेफ्लाटिस धेरै जसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छन् ।
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् । विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।