नेपालगन्ज, १६ भदौ । बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा झाडापखालाका कारण आइतबार मात्र ४ जनाको मृत्यु भएको छ ।
नरैनापुर ३ गेगली गाउँमा फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले भारतीय सिमासंग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको झाडापखालाका कारण चारजनाको मृत्यु भएको जानकारी दिए ।
उनले जानकारी आउनसाथ आफू लगायत स्वास्थ्य चौकीका सिनियर अहेब तैयब अहमद र अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको जानकारी दिए ।
नरैनापुर ३ का वडा अध्यक्ष अजय मिश्राले झाडापखालाबाट चारजनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको झाडापाखाको कारण मृत्यु भएको बताए ।
नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले झाडा पखाला फैलिएको गेगलीमा स्वास्थ्य क्याम्प स्थापना गरी उपचार सुरु गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको बताए ।
झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको छ ।
अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।