बागलुङ, ७ चैत । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण नियन्त्रणतर्फ उन्मुख भएको छ।
संक्रमणपछि उपचारमा रहेका ८३ जना बिरामी निको भई घर फर्किएका छन्।
बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी डिस्चार्ज भएका हुन्।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले हाल बुर्तिवाङ जिल्ला अस्पतालमा ११ जना र बोबाङ स्वास्थ्य चौकीमा ४ जना बिरामीको उपचार जारी रहेको जानकारी दिनुभयो। बुर्तिवाङबाट धौलागिरि प्रादेशिक अस्पताल तथा पोखरा रिफर गरिएका पाँचमध्ये चार जना सफल उपचारपछि घर फर्किएको उहाँले बताउनुभयो।
घिमिरेका अनुसार सामान्यदेखि जटिल लक्षण देखिएका बिरामीहरूलाई समयमै उपचार उपलब्ध गराउँदा ज्यान जाने अवस्था आउन नदिइएको छ। केही बिरामीमा पखाला, निमोनिया, पेट दुख्ने तथा नाकबाट रगत बग्ने जस्ता समस्या देखिए पनि स्वास्थ्यकर्मीको सतर्कताले स्थिति नियन्त्रणमा राखिएको उहाँले उल्लेख गर्नुभयो।
ढोरपाटन नगरपालिका–७ बोबाङ, ८ सेराबाङ र ९ लाकुरीबोटमा दादुरा फैलिन थालेपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन कक्ष स्थापना गरी सघन उपचार थालिएको थियो। विशेष गरी बालबालिकामा उच्च ज्वरो र शरीरमा बिबिरा आउने लक्षण देखिएको थियो भने अभिभावकमा रुघाखोकी र ज्वरोका समस्या देखिएका थिए।
संक्रमण नियन्त्रणका लागि प्रदेश र संघीय स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको टोली गाउँ–गाउँमा पुगेर उपचार तथा सचेतना अभियान सञ्चालन गरेको थियो।
करिब तीन सातासम्म फैलिएको संक्रमणका क्रममा ६ महिनादेखि ४८ वर्ष उमेर समूहका १४१ जनामा दादुरा पुष्टि भएको थियो।
हालसम्म ढोरपाटन नगर क्षेत्रमा १० देखि १९ वर्ष उमेर समूहका ५ हजार ९ सय १३ जना बालबालिका तथा किशोरकिशोरीलाई दादुराविरुद्धको खोप लगाइएको छ। साथै, स्वास्थ्य सतर्कता अपनाउँदै प्रभावित क्षेत्रका विद्यालयहरूमा पठनपाठन पुनः सुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख भूमिश्वर शर्माले जानकारी दिनुभयो।
विद्यालयमा मास्क प्रयोग, सरसफाइमा विशेष ध्यान तथा बिरामीको उपचार र खोप सुनिश्चित गरेपछि मात्र कक्षा सञ्चालन गर्न अनुमति दिइएको उहाँले बताउनुभयो। विश्व स्वास्थ्य संगठनको टोलीले अझै खोपबाट छुटेका बालबालिकाको खोजी कार्य जारी राखेको छ।
यसैबीच, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले प्रकोप व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने र शङ्कास्पद बिरामीलाई तत्काल उपचारको दायरामा ल्याउने निर्णय गरेको जनाएको छ।