काठमाडौं, ८ साउन । सांसद प्रतिमा गौतमले मुलुकभर डेंगुको प्रकोप फैलिएर जनस्वास्थ्य सङ्कट उत्पन्न भएकाले यसको नियन्त्रणका लागि सरकारलाई निर्देशन दिन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी छन् ।
प्रस्तावमा डेंगुको प्रकोपका कारण अस्पतालमा गम्भीर अवस्थाका बिरामी भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकाले डेंगुको प्रभावकारी नियन्त्रणका एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन माग गरिएको छ।
उक्त प्रस्तावमाथि सांसदहरु कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बूले समर्थन गरे।
सो प्रस्तावमाथिको छलफलमा सांसद विराजभक्त श्रेष्ठ, ऋषिकेश पोखरेल, योगेशकुमार भट्टराई, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, असिम साह, सुशीला श्रीपाली ठकुरी, डा तोसिमा कार्की, उर्मिला माझी, अशोककुमार चौधरी, ठाकुरप्रसाद गैरे, सीताकुमारी राना, निशा डाँगी र रामकृष्ण यादवले डेंगुको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गरे।