काठमाडौँ, २८ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३० औँ सभा (सिनेट बैठक) सम्पन्न भएको छ ।
बैठकले नर्स सहित विभिन्न पदमा दरबन्दी थप गरेको छ ।
बैठक प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको थियो ।
बैठकले रित्त पदमा दरबन्दी थप गर्नुकासाथै सेनेट सदस्य र प्राज्ञिक परिषदमा समेत तीन–तीनजना नियुक्त गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा.भुपेन्द्रकुमार बस्नेतले नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन, प्लम्बर लगायतका विभिन्न पदमा जनशक्ति थप गरेको बताए ।
प्राडा.बस्नेतले बैठकले नाक, कान. घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याव टेक्निसियन पाँचौँ पाँच जना पदपूर्तिका लागि दरबन्दी स्वीकृत गरेको जानकारी दिए ।
यसैगरी बैठकले तीन जना नयाँ सिनेट सदस्य थपेको छ । बस्नेतका अनुसार तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरेको छ । थपिएका नयाँ सिनेट सदस्यमा प्राडा चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा दिपक सिग्देल छन् ।
प्राज्ञिक परिषदमा प्राडा अजित रायामाझी, प्राडा दीपेन्द्र श्रेष्ठ र प्राडा सरोज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । उपकुलपति प्राडा बस्नेतले वीर अस्पतालमा अत्यावस्यक प्राविधिकतर्फ दरबन्दी थप गरेको जानकारी दिए ।
उनका अनुसार फार्मेसीका लागि फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ५ जना, प्लम्बर ६ जना, चालक तथा सहायकसहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय भएको छ ।