ऐन कार्यान्वयनमा शतप्रतिशत भूमिका रहने प्रतिबद्धता
पोखरा, ३ असार । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिंखडाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्यवनमा दृढ रहने बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले शनिबार पोखरामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो।
जनताको स्वास्थ्यको विषय भएकाले सुर्तीजन्य पदार्थ नियमनका लागि कानुन कार्यान्वयन गर्न आफ्नो भूमिकामा कुनै कमी नहुने मन्त्री सिंखडाले बताउनुभयो ।
‘जनताको स्वास्थ्यसँग सम्बन्धित विषय हो । यसलाई निष्कर्ष निकाल्ने कुरामा मेरो जहिले सहयोग रहन्छ’ मन्त्री सिंखडाले भन्नुभयो, ‘यो कानुन लागू गर्नुपर्छ भन्नेमा मेरो भूमिका एक प्रतिशत पनि कम हुँदैन ।’
आफू सानै उमेरदेखि धुम्रपान मध्यपानको विरोधी रहेको पनि उहाँले सुनाउनुभयो ।

ऐन कार्यान्वयनमा आफ्नो मात्रै हात नहुने भएकाले सबै क्षेत्रमा यो सन्देश पुर्याउनु पर्ने उहाँको भनाइ छ ।
धुम्रपान र मध्यपानका कारण धेरै वस्तीहरु अशान्त रहेको, घर समुदायहरु तनावमा रहेको पनि उहाँले सुनाउनुभयो । आफूले सेवन नगरेपनि अरुलाई नखा भन्न अप्ठेरो रहेको, खुद्रा पलसमा गएर चुरोट नबेच भन्दा भन्ने मान्छे नै नराम्रो हुने अवस्था रहेको मन्त्री सिंखडाले बताउनुभयो ।
नियममा बस्ने, नियम बनाउने र नियममा बाधिने कुरा नै अहिलेको मुख्य आवश्यता भएको मन्त्री सिंखडाको भनाइ छ।
किशोर–किशोरीहरुमा धुम्रपानको लत धेरै देखेको भन्दै मन्त्री सिंखडाले, आफ्ना सन्तानलाई संस्कार सिकाउन आवश्यक रहेको औँल्याउनुभयो ।

‘हामी सप्पत्ति कमाउनेमा धेरै फोकस भएका छौँ । तर छोराछोरीलाई संस्कार दिनमा ध्यान छैन’ मन्त्री सिंखडाले भन्नुभयो, ‘हाम्रो घरबाटै सुरु गरौँ । बहस छलफल गर्दै जाऔँ, कानुन कार्यान्वयनको पाटोमा ध्यान दिऔँ । एकदिन अवश्य सफल भइन्छ ।’
हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मान्छे मर्नु सामान्य कुरा नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालका निर्देशक प्रा।डा भरत खत्रीले बताउनुभयो ।
यो साइलेन्स किलर हो भनेर थाहा पाउँदा–पाउँदै पनि धेरै पत्रकार, चिकित्सक, स्वास्थ्यकर्मीसमेत धुम्रपान गर्ने गरेको उहाँले सुनाउनुभयो।
सुर्तीजन्य पदार्थ सेवनको लत भएका व्यक्तिलाई त्यसको विकल्प नदिएमा ऐन कार्यान्वयनले मात्रै यसलाई नियन्त्रण गर्न नसक्ने डा।खत्रीको भनाइ छ।
‘हामी ऐनमा लागिरहेका छौँ तर चुरोट खानेलाई आवश्यक पर्ने कुरा पूर्ति नगरेसम्म त्यो कम हुँदैन’ डा.खत्रीले भन्नुभयो, ‘जति व्याण्ड गरेपनि कुनै समाधान छैन । ऐन, कानुनले कुनै काम गर्ने वाला छैन।’
विद्ययुतीय चुरोटजस्ता विकल्व हुनसक्ने डा खत्रीको सुझाव छ । धुम्रपानलाई निरुत्साहित गर्न धुम्रपान कार्ड बनाउने जस्ता नियम पनि लागू गर्न सकिने डा खत्रीले बताउनुभयो ।
सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि घरैबाट सुरु गर्नुपर्ने उहाँको भनाइ छ।
सुर्तीजन्य पदार्थ सेवनलाई नियन्त्रण गर्न कानुन भने हुनैपर्ने डा।खत्रीका तर्क छ। कानुनको दवावले पनि मान्छेलाई स्वनियन्त्रण गर्न सहयोग पुग्ने डा।खत्रीले बताउनुभयो ।

सुर्तीजन्य उद्योगमा रोजगार रहेकाको विकल्प खोजेर उद्योगलाई निरुत्साहित गर्नुपर्ने डा।खत्रीको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले नेपालमा सुर्तीजन्य पदार्थ सेवनको अवस्था र ऐन कार्यान्वयनमा नेपाल तथा गण्डकी प्रदेशमा भएको प्रयासबारे प्रस्तुती राख्नुभएको थियो ।
नेपालका करिब एक तिहाइले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक आचार्यले प्रस्तुत गर्नुभयो । पुरुषको तुलनामा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिला कम रहेको विभिन्न अध्ययनको तथ्यांकमा देखिएको आचार्यले जानकारी दिनुभयो ।
सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुष ५१ प्रतिशत रहँदा महिला १३ प्रतिशत मात्रै रहेको पनि उहाँको भनाइ छ ।
पहाडी भेगका महिलाले धेरै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक पनि आचार्यले प्रस्तुत गर्नुभयो ।
विश्वका अन्य देशका तुलनामा नेपालमा सुर्तीजन्य पदार्थ सजिलै किन्न पाउने मुलुकको रुपमा रहेको उहाँको भनाइ छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्ने मध्ये ७५ प्रतिशतलाई यो हानिकारक छ भन्ने जानकारी भएको अध्ययनले देखाएको आचार्यले बताउनुभयो ।
धुम्रपानको लत लागेका ४ प्रतिशतले मात्रै यो छाड्न सकेको तथ्य रहेको पनि आचार्यले जानकारी दिनुभयो ।
नियन्त्रण नियमनका लागि कानुन केन्द्र सरकारले २०६८ ऐन र नियमावली, त्यसपछि निर्देशिकाहरु जारी गरी भूमिका खेलिरहेको उहाँले स्मरण गराउनुभयो ।
नयाँ ऐन तथा निर्देशिकाका कारण सार्वजनिकस्थलमा धुम्रपान गर्न नपाइने, फुटकर खिल्ली बेच्न नपाइने, पाकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्र छाप्ने जस्ता नियम आएको उहाँले सुनाउनुभयो ।
गण्डकी प्रदेशले सुर्तीजन्य पदार्थ नियन्त्रण नियमनका लागि २०७६ मा ऐन बनाएर प्रयास गरेको जानकारी आचार्यले दिनुभयो ।
विश्वमा मृत्यु हुनेमध्ये ७१ प्रतिशतको र नेपालमा ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने गरेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिनुभयो । धेरै नसर्ने रोग लाग्नुको कारण सुर्तीजन्य पदार्थको सेवन रहेको चन्दले बताउनुभयो ।
७ प्रदेशमध्ये सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि गण्डकी प्रदेशले मात्रै ऐन बनाएको भन्दै अध्यक्ष चन्दले सह्राना गर्नुभयो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्न मुख्य अस्त्र करवृद्धि रहेको चन्दले बताउनुभयो । सुर्ती, चुरोटका खोलमा ९० प्रतिशत चेतावनीमुलक चित्र राख्नुपर्ने नियम रहेको र ६–६ महिनामा नयाँ चित्र राख्नुपर्नेमा त्यो कार्यान्वयन नभएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
टोबाको कम्पनीका सञ्चालकहरु नीति निर्माण तहमा बसेकालाई दिग्भ्रमित बनाएर आफ्नो स्वार्थ लागू गराउन खप्पीस रहेको आरोप चन्दले लगाउनुभयो ।
टोबाको कम्पनीका साहुजीहरू राजनीतिज्ञलाई कन्भिन्स गराउन निकै माहिर हुनुहुन्छ’ चन्दले भन्नुभयो, ‘रोजगार दिएका छौँ, भन्ने, ग्राहकका रुपमा चुरोट, सुर्ती सेवन गर्नेलाई मुद्दा हाल्न लगाउने, यहाँ उद्योग बन्द भए विदेशबाट धेरै आयात हुन्छ भनेर तर्साउने पनि गर्नुहुन्छ।’
सुरुमा ऐन पास गर्नै गाह्रो भएको, त्यसपछि चेतावनीमुलक चित्र राख्ने निर्देशिका पास गराउन पनि निकै चुनौती झेल्नु परेको चन्दले सुनाउनुभयो ।
सुर्ती उद्योगहरुले समाजमा सेवा गरेको भन्ने नाममा विभिन्न गतिविधि गरिरहेकाले त्यो उपयुक्त नभएको चन्दको भनाइ छ । एम्बुलेन्स दिने, स्कुल खोलिदिने, पानी पम्प दिने, अस्पताल खोल्न पैसा दिने जस्ता काममा सुर्ती उद्योगहरुले सहयोग गर्ने गरेकाले त्यस्ता सहयोग लिन नहुने चन्दको भनाइ छ ।
सुर्तीजन्य पदार्थमा पोखरा महानगरपालिका सुस्त देखिएको अरोप अध्यक्ष चन्दको छ ।
पर्यटकीय शहर पोखरामा ुस्मोक फ्रीु होटल बनाउन सके निकै राम्रो हुने सुझाव चन्दले दिनुभयो ।
शहरका हरेक ठाउँमा धुम्रपान निषेधको चिन्ह राख्ने, पालिकाले आफ्नै पाठ्यक्रम राख्न पाउने भएकाले त्यसमा सुर्तीजन्य पदार्थ नियमनको विषय राख्न पनि उपयुक्त हुने सुझाव चन्दको छ । सुर्तीजन्य पदार्थ सेवन सुरु गर्ने उमेर १२–१३ वर्ष रहेकाले त्यो उमेरकालाई लक्षित गरी पाठ्यक्रममा गर्नु उपयुक्त हुने उहाँको भनाइ छ ।
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले सुर्तीजन्य पदार्थ नियन्त्रणमा मञ्चले खेलेको भूमिकाबारे जानकारी दिनुभएको थियो। ऐन निर्माणदेखि कार्यान्वयनमा स्वास्थ्य पत्रकारको ठूलो भूमिका रहेको ढुंगेलले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार प्रविन ढकालले सुर्तीजन्य पदार्थ नियन्त्रण, निमनका लागि ऐन निर्माण तथा कार्यान्वयनमा पत्रकारले खेलेको भूमिकाबारे प्रस्तुती राख्नुभएको थियो ।
स्वास्थ्य पत्रकारहरुले ऐन आउनुपर्छ भनेर निरन्तर कलम चलाएको उहाँले सुनाउनुभयो । ऐन रोक्नका लागि चुरोट, सुर्ती उद्योगको दवाव, धम्की धेरै आएको पनि ढकालले सुनाउनुभयो ।
ुचुरोट, सुर्ती सेवनबाट रोग लाग्छ, क्यान्सर लाग्छ भनेर कहाँ लेखिएको छ, त्यसै समाचार लेख्ने रुु भनेर धम्याउने समेत गरेको ढकालको भनाइ छ । चेतावनीमूलक चित्र कार्यान्वयनमा पनि समस्या भएको उहाँले बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्चका पूर्वअध्यक्ष रामप्रसाद न्यौपाने ऐन बनेपनि कार्यान्वयनमा समस्या रहेको जानकारी दिनुभयो । जस्तोसुकै बाधा भएपनि कानुन कार्यान्वयन गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।
नयाँ पुस्तालाई सुर्ती, चुरोट सेवनबाट बचाउन आवश्यक रहेको न्यौपानेको भनाइ छ ।