काठमाडौं । सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई बाहुला भएको पोशाक लगाउन आग्रह गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै डेंगुको संक्रमण तीव्र बनेकाले कार्यस्थल वरपर निरन्तर सफा राख्न र बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको हो । ‘डेंगु संक्रमणको जोखिम कम गर्न कार्यास्थल वरिपरी निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला पोशाक अनिवार्य लगाउन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु र सबै निजी सामुदायिक क्षेत्रमा काम गर्ने सबै कर्मचारीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । २७ भदौंदेखि मन्त्रालयले डेंगु रोगको प्रकोप रोक्न प्रतिकार्य योजना बनाएको उल्लेख गर्दै डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र बनाइएको जनाएको छ । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । मन्त्रालयले प्रायः दिनको समयमा विषेशगरी विहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन आग्रह गरेको छ ।