अस्पतालविरुद्ध मुद्दा
सडक दुर्घटनामा परेर गम्भीर भएकी महिलालाई अस्पतालले मृत घोषित गर्यो । त्यसपछि परिवार र आफन्तले बाकसमा राखेर अन्तिम संस्कारका लागि लैजाँदै थिए। बाटोमा जाँदै गर्दा महिलाले बाकस ढकढक गरेको आवाज आयो ।
मलामीहरुले हत्तपत्त बाकस खोलेर हेरे। महिलाले आँखा खोलेर सबैलाई हेरिरहेकी थिइन् । सबैजना स्तब्ध भए । त्यसपछि तत्कालै नजिकै रहेको अस्तपालमा लगियो । तुरुन्तै उनलाई लाइफ सपोर्ट मेसिनमा राखियो । केही समयसम्म उनको स्वास्थ्यमा सुधार देखिए पनि अवस्था बिग्रियो । केही घण्टापछि उनको मृत्यु भयो ।
घटना दक्षिण अमेरिकी देश पेरुको हो । ३६ वर्षीया महिला कार दुर्घटनामा परेकी थिइन् । उक्त दुर्घटनामा उनका देवर र भतिजाहरू गम्भीर घाइते भएका थिए ।
२६ अप्रिलमा डाक्टरले मृत घोषित गरेपछि परिवारले अन्तिम संस्कारको तयारी गरेका थिए ।
बाकसमा रोजाले ढकढक गरेपछि खोलेर हेर्दा उनले आँखा हेरिरहेको र पसिनाले भिजेको पाइएको आफन्तले बताएका छन् । मृत्यु हुनुअगावै मृत घोषित गरी मुर्दाघरमा पठाएको भन्दै चिकित्सक र अस्पतालसँग उनका आफन्त आक्रोशित भएका छन् ।
आफन्तले आफूहरुसँग मृत घोषित गरिएको रोजा चलेको, बाकसमा हातले हिर्काएको भिडियो रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
रोजाका आफन्तले अस्पताल र चिकित्सकविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
जीवित रहेको प्रमाणित भएपछि लगिएको रेफेरेन्सियल अस्पतालले यो निष्कर्ष निकालेको छकि, 'कोमामा गएको बिरामीलाई चिकित्सकले मृत्यु भएको ठानेर लाइफ सपोर्ट मेसिनबाट निकाले।'
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । एजेन्सी