विराटनगर १२ भदौ । सडक दुर्घटनामा परी एक चिकित्सकको निधन भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डा.नीरज यादवको निधन भएको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकआपसमा ठक्कर हुँदा मोटरसाइकलमा सवार डा.यादव गम्भीर घाइते भएको बताउनुभयो । प्रहरीले तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएपछि डा.यादवको निधन भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।