धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सक माथि प्रहरीले दमन गरेको छ। आन्दोलनकारी चिकित्सक र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो। 
सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएकोले बाहिर निस्कन आग्रह गरेका थिए । उपकुलपतिले उनीहरुको आग्रह नमानेपछि आन्दोलनकारीहरु कार्यालय प्रवेश गर्न खोज्दा प्रहरी र सेक्युरिटी गार्डहरुले प्रवेश गर्न नदिएपछि केही समय झडप भएको थियो । यद्यपी कोही चिकित्सक घाइते भएका छैनन् ।
आन्दोलनकारीले अदालतको आदेश अनुसार ताला खोलेपछि प्रतिष्ठानकै चिकित्सकहरुलाई प्रवेश गर्न नदिइनु आदेश विपरीत भएको भन्दै विरोध जनाएका थिए । उनीहरुले छानबिन प्रतिवेदनहरुले उपकुलपति डा.गिरीसहित पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको कारण सिनेट बैठक नभइ कार्यालय प्रवेश गरेर कुर्सीमा बस्न नदिइने अडान लिएका छन् । संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले सिनेट बैठकनभएसम्म पदाधिकारीहरुलाई कुर्सीमा बस्ने नैतिकता नभएको बताउनुभयो ।
प्रहरी र आन्दोलनकारीबीच झडप बढ्दै गएको र स्थिति थप तनावग्रस्त हुन थालेपछि भित्रि बाटो गरेर उपकुलपति डा.गिरी कार्यलयबाट बाहिरिनुभएको थियो । त्यसअघि दिउँसो खाना खाने समय भएपछि अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह पनि आफ्नो कार्यकक्ष प्रवेश गर्नुभएको थियो । उहालाई पनि आन्दोलनकारीहरुले कार्यकक्षबाट बाहिर निकालेका थिए । उपकुलपति डा.गिरी पनि दिउँसो करिब २ बजेपछि आफ्नो कार्यकक्ष प्रवेश गरेका थिए । यो कुरा थाह पाएका आन्दोलनकारीहरु उपकुलपति कार्यालयअघि भेला भएका थिए ।