सुर्खेत १५ असोज । कर्णाली प्रदेशमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूको माग २४ घण्टाभित्र सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।
माग सम्बोधन नभएमा कामकाजलाई निरन्तरता दिन असमर्थ हुने चेतावनीसमेत ऊनीहरुले दिएका छन् ।
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै स्थायी समकक्षी कर्मचारीसरह तलब, भत्ता तथा सेवा–सुविधा उपलब्ध गराउन माग गरेका हुने ।
समितिले समान काम र जिम्मेवारी निर्वाह गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीबीच पारिश्रमिक तथा सेवा–सुविधामा रहेको असमानता तत्काल अन्त्य गर्न माग गरेको छ। छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थायी समकक्षी कर्मचारीसरह स्वास्थ्य सेवा प्रवाहमा जिम्मेवारी निर्वाह गरिरहे पनि तलब, भत्ता तथा अन्य सुविधा भने समान नरहेको ऊनीहरुको भनाइ छ।
समितिले विगतदेखि उपलब्ध हुँदै आएको विशेष प्रोत्साहन भत्तालाई निरन्तरता दिनसमेत माग गर्नुभएको छ। ‘समान कामका लागि समान पारिश्रमिक’ को सिद्धान्तअनुसार प्रदेश कर्मचारी प्रोत्साहन भत्तासम्बन्धी व्यवस्थाबमोजिम छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् ।
आफ्ना मागका विषयमा सम्बन्धित निकायलाई विगत दुई सातादेखि जानकारी गराउँदै आए पनि हालसम्म ठोस सुनुवाइ नभएको समितिले जनाएको छ।
कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको ऊनीहरुको भनाइ छ। समान जिम्मेवारी निर्वाह गरिरहेका जनशक्तिबीच सेवा–सुविधामा विभेद हुँदा कार्यरत जनशक्तिको मनोबलमा असर पर्ने ऊनीहरुको जिकिर छ।
माग सम्बोधन नभई सेवा प्रभावित भएमा त्यसबाट बिरामी तथा सेवाग्राहीमा पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समितिले दिएको छ।