• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालका डा. अजय यादव आईडीएफको उच्चस्तरीय समितिमा चयन

    नेपालका डा. अजय यादव आईडीएफको उच्चस्तरीय समितिमा चयन

    बुधबार, साउन १३ २०८३
    बुधबार, साउन १३ २०८३
    नेपालका डा. अजय यादव आईडीएफको उच्चस्तरीय समितिमा चयन

    धरान, १३ साउन । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विभागका अतिरिक्त प्राध्यापक एवं मधुमेह रोग विशेषज्ञ डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघको शारीरिक गतिविधि कार्यान्वयन समितिमा चयन हुनुभएको छ।

    मधुमेह रोकथाम तथा नियन्त्रणका लागि विश्वभर शारीरिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले गठित उक्त समितिमा नेपालबाट डा. यादवले स्थान बनाउनुभएको हो। विश्वका १६३ देशका २६४ राष्ट्रिय मधुमेह संस्थालाई आबद्ध गराएको अन्तर्राष्ट्रिय मधुमेह महासंघले विश्वभरका सयौँ विज्ञमध्येबाट छनोट गरेका १० जना विशेषज्ञमध्ये उहाँ पनि पर्नुभएको प्रतिष्ठानले जनाएको छ।

    महासंघका अनुसार समितिले नियमित शारीरिक गतिविधिको महत्वबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने तथा मधुमेह रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ। यसका साथै विभिन्न देशका विज्ञसँग सहकार्य गर्दै प्रभावकारी रणनीति तयार पार्ने र मधुमेह नियन्त्रणका प्रयासलाई थप सशक्त बनाउने जिम्मेवारी पनि समितिको हुनेछ।

    डा. यादव लामो समयदेखि मधुमेहको उपचार, परामर्श, अध्ययन–अनुसन्धान तथा जनचेतना अभिवृद्धिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा विभिन्न स्वास्थ्य सचेतनामूलक कार्यक्रममार्फत नियमित व्यायाम, सन्तुलित भोजन र स्वस्थ जीवनशैलीको महत्वबारे निरन्तर सचेतना फैलाउँदै आउनुभएको छ।

    प्रतिष्ठानका अनुसार उहाँको लामो अनुभव, विषयगत दक्षता र मधुमेह रोकथामका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय मधुमेह महासंघले यो जिम्मेवारी प्रदान गरेको हो।

    प्रतिष्ठानले डा. यादवको चयनलाई संस्थाका साथै नेपालको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। उहाँको सहभागिताले अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा नेपालको उपस्थिति अझ प्रभावकारी बन्नुका साथै मधुमेह रोकथाम र स्वास्थ्य प्रवर्द्धनसम्बन्धी विश्वव्यापी अभियानमा नेपालको भूमिका थप सुदृढ हुने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ।

    प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठले डा. यादवलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले मधुमेहलगायत नसर्ने रोगबाट बच्न नियमित शारीरिक गतिविधि, स्वस्थ खानपान र अनुशासित जीवनशैली अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार