धनगढी, ११ साउन । स्वास्थ्य क्षेत्रको सुधार, चिकित्सा शिक्षामा देखिएका विकृति अन्त्य तथा विगतमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने माग राख्दै २४औँ सत्याग्रहमा रहनुभएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच सोमबार सात बुँदे सहमति भएको छ। सहमतिपत्रमा हस्ताक्षर भएसँगै डा. केसीले आफ्नो सत्याग्रह अन्त्य गर्नुभएको छ।
बिहीबारदेखि धनगढीमा सत्याग्रह सुरु गर्नुभएका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको नेतृत्वमा गठित सरकारी वार्ता टोली धनगढी पुगेको थियो। सरकारी टोली र डा. केसी पक्षबीच भएको लामो छलफलपछि सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र यसअघि डा. केसीसँग भएका विभिन्न सम्झौताहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी कैलालीस्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) लाई ऐनको व्यवस्थाअनुसार कम्तीमा ३०० शय्याको शिक्षण अस्पतालका रूपमा सञ्चालन गरी एमबीबीएससहितका शैक्षिक कार्यक्रम यथाशीघ्र सुरु गर्न आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबीच आवश्यक समन्वय गरी पूर्वाधार, जनशक्ति तथा शैक्षिक तयारीलाई तीव्रता दिने सहमति भएको छ। चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न कानुनले तोकेका मापदण्ड कडाइका साथ पालना गर्ने, छात्रवृत्ति तथा सिट व्यवस्थापनलगायतका विषयलाई पारदर्शी र कानुनसम्मत बनाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
यस्तै सुदूरपश्चिमलगायत स्वास्थ्य सेवाको पहुँच कमजोर रहेका क्षेत्रका नागरिकलाई सहज उपचार सेवा उपलब्ध गराउन आवश्यक स्वास्थ्य पूर्वाधार विस्तार तथा सेवा सुदृढीकरणका लागि पहल गर्ने सहमति भएको छ। स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा सम्बन्धित मन्त्रालय र निकायबीच समन्वय गरी प्रक्रिया अघि बढाउने तथा सहमतिका सबै बुँदाको प्रभावकारी कार्यान्वयनमा दुवै पक्ष प्रतिबद्ध रहने उल्लेख गरिएको छ।
वार्तापछि डा. केसीले सरकारले गरेको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुने विश्वासका साथ आफ्नो सत्याग्रह अन्त्य गर्नुभएको छ। उहाँले विगतमा भएका सहमतिहरू कार्यान्वयनमा ढिलाइ दोहोरिन नहुनेमा जोड दिनुभएको छ।
डा. केसीले स्वास्थ्य सेवा सर्वसुलभ बनाउने, चिकित्सा शिक्षामा सुधार ल्याउने, सरकारी मेडिकल कलेजहरूको विस्तार गर्ने तथा स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्नुपर्ने माग राख्दै विगत डेढ दशकदेखि पटक–पटक सत्याग्रह गर्दै आउनुभएको छ। यस पटकको सत्याग्रह उहाँको २४औँ सत्याग्रह हो।