काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पार्टीको केन्द्रीय सदस्य (खुला तर्फ) पदमा उम्मेदवारी दिनुभएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा उहाँले पार्टीलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन योगदान पुर्याउने उद्देश्यले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो।
डा. कार्कीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको रास्वपालाई संस्थागत, जवाफदेही र जनउत्तरदायी संगठनका रूपमा थप विकास गर्न पार्टीभित्र सक्रिय र जिम्मेवार भूमिकाको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण तथा सक्षम नेतृत्व विकासलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको जनाउनुभएको छ।
उहाँका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर पनि हो। महाधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचना थप मजबुत बनाउने तथा जनविश्वासलाई अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
सार्वजनिक गरिएको प्रचार सामग्रीमा डा. कार्कीलाई केन्द्रीय सदस्य पदका उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। उक्त सामग्रीमा पार्टीको चुनाव चिह्न घण्टीसहित ‘स्वतन्त्र सोच, समृद्ध भविष्य’ भन्ने सन्देश समावेश गरिएको छ।
महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।
स्वास्थ्य क्षेत्र, सार्वजनिक सरोकारका विषय तथा संसदीय भूमिकामार्फत पहिचान बनाउन सफल कार्कीले खुला तर्फको ९८ नम्बरमा मतदान गर्न आग्रह गर्नुभएको छ ।