काठमाडौँ, ८ असार । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दुई अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ।
अर्थ मन्त्रालयले असार ४ गते स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजित रकम बोर्डको खातामा निकासा गरेपछि बोर्डले आइतबार देशभरका ३६४ वटा स्वास्थ्य संस्थालाई उक्त रकम भुक्तानी गरेको जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीहरूलाई उपचार सेवा उपलब्ध गराएबापत स्वास्थ्य संस्थाहरूले लामो समयदेखि प्राप्त गर्न बाँकी रहेको दाबी रकममध्ये ठूलो हिस्सा यसपटक भुक्तानी गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार प्राप्त बजेटलाई पारदर्शी, न्यायोचित र समानुपातिक ढङ्गले वितरण गर्ने प्रयास गरिएको छ। यस भुक्तानीबाट सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूको आर्थिक भार केही हदसम्म कम हुने र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी तथा निरन्तर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको दाबी रकम समयमै भुक्तानी नहुँदा केही स्वास्थ्य संस्थाले सेवा प्रवाहमा कठिनाइ भएको जनाउँदै बीमा सेवा सीमित गर्ने वा बन्द गर्ने चेतावनीसमेत दिएका थिए। पछिल्लो भुक्तानीले त्यस्ता संस्थालाई राहत पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ।
स्वास्थ्य बीमा बोर्डले भुक्तानी प्राप्त गर्ने ३६४ वटै स्वास्थ्य संस्थाको नाम र प्राप्त रकमको विस्तृत विवरण सार्वजनिक गरेको छ। सम्बन्धित स्वास्थ्य संस्थाले प्राप्त गरेको रकमको विवरण बोर्डले उपलब्ध गराएको सूचीमा हेर्न सकिने जनाइएको छ।
हेर्नुहोस, कुन अस्पताललाई कति?