• सोमबार, १५ भदौ २०८३
  • images

    एनआरएन चिकित्सकको लाइसेन्स खारेजीप्रति आपत्ति, पुनर्विचार गर्न माग

    एनआरएन चिकित्सकको लाइसेन्स खारेजीप्रति आपत्ति, पुनर्विचार गर्न माग

    मंगलबार, वैशाख २२ २०८३
    मंगलबार, वैशाख २२ २०८३
    एनआरएन चिकित्सकको लाइसेन्स खारेजीप्रति आपत्ति, पुनर्विचार गर्न माग

    काठमाडौं, २२ वैशाख । नेपाल मेडिकल काउन्सिलले विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गम्भीर आपत्ति जनाएको छ।
    संघका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी वक्तव्यमा उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।

    एनआरएनएले नेपालको संविधानले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासकै आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नहुने जनाएको छ। 
    चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णयहरू गर्दा पर्याप्त परामर्श, स्पष्ट आधार तथा प्रक्रियागत पारदर्शिता अनिवार्य हुने संघको धारणा छ।
    वक्तव्यमा सम्बन्धित चिकित्सकहरूसँग पूर्वजानकारी, समन्वय र संवाद नगरी लाइसेन्स खारेज गरिएकोप्रति विशेष असन्तुष्टि व्यक्त गरिएको छ। 
    साथै, सरकारले अघि सारेको ‘सीप हस्तान्तरण (स्किल ट्रान्सफर)’ नीति विपरीत दक्ष जनशक्तिलाई निरुत्साहित गर्ने खालको निर्णय भएको पनि संघको ठहर छ।
    संघले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणालाई व्यवहारमा लागू गर्दै विदेशमा रहेका नेपाली चिकित्सकहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय हितमा उपयोग गर्ने गरी समावेशी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    यसका साथै, सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक संवादमार्फत न्यायोचित, पारदर्शी र व्यवहारिक समाधान खोज्न आग्रह गर्दै एनआरएनएले उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार