• सोमबार, १५ भदौ २०८३
  • images

    दर्ता नभएका क्लिनिकविरुद्ध मेडिकल काउन्सिल, चिकित्सकलाई काम नगर्न चेतावनी 

    दर्ता नभएका क्लिनिकविरुद्ध मेडिकल काउन्सिल, चिकित्सकलाई काम नगर्न चेतावनी 

    बिहीबार , वैशाख १७ २०८३
    बिहीबार , वैशाख १७ २०८३
    दर्ता नभएका क्लिनिकविरुद्ध मेडिकल काउन्सिल, चिकित्सकलाई काम नगर्न चेतावनी 

    काठमाडौं, १७ वैशाख । नेपाल मेडिकल काउन्सिलले दर्ता नभएका तथा अवैधानिक स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकहरूलाई कडा निर्देशन दिएको छ।

     काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै दर्तावाल चिकित्सकहरूले स्वीकृत, दर्ता भएका र कानुनी रूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा क्लिनिकहरूमा मात्र सेवा प्रदान गर्नुपर्ने स्पष्ट पारेको हो।

    काउन्सिलले चिकित्सकहरूलाई कुनै पनि अस्पताल, क्लिनिक वा स्वास्थ्य संस्थासँग आबद्ध हुनु अघि त्यस संस्थाको कानुनी स्थिति, दर्ता प्रक्रिया तथा प्रदान गरिने सेवाहरूको स्वीकृत अवस्थाबारे यथोचित जानकारी लिन आग्रह गरेको छ। 

    सेवा दिने संस्थाको भौतिक पूर्वाधार, जनशक्ति तथा सेवा क्षमताबारे पनि बुझेर मात्र कार्य प्रारम्भ गर्नुपर्ने काउन्सिलले जनाएको छ।

    सूचनामा चिकित्सकहरूले आफ्नो शैक्षिक योग्यता, विशेषज्ञता र काउन्सिलमा रहेको दर्ता स्थिति अनुसार मिल्दो प्रकृतिको स्वास्थ्य संस्थामा मात्र काम गर्नुपर्ने उल्लेख गरिएको छ। 

    यसरी योग्यता र सेवा प्रकृतिबीच तालमेल नहुँदा बिरामीको सुरक्षामा गम्भीर असर पर्न सक्ने काउन्सिलले जनाएको छ।

    काउन्सिलले दर्ता नभएका स्वास्थ्य संस्थामा काम गर्नु, त्यस्ता संस्थासँग आवद्ध हुनु वा अप्राधिकृत रूपमा सेवा दिनु पेशागत आचारसंहिता र प्रचलित कानुनको ठाडो उल्लङ्घन हुने स्पष्ट पारेको छ। 

    यस्ता गतिविधिमा संलग्न चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिल ऐन तथा सम्बन्धित नियमावलीअनुसार अनुशासनात्मक कारबाही गरिने चेतावनी दिइएको छ।

     पछिल्लो समय दर्ता नभएका क्लिनिकहरू सञ्चालनमा रहेको र त्यहाँबाट सेवा प्रवाह भइरहेको गुनासो बढ्दै गएको सन्दर्भमा काउन्सिलले यस्तो निर्देशन जारी गरेको जनाएको छ। 

    काउन्सिलका अनुसार यस्ता अवैधानिक संस्थाले न्यून गुणस्तरको सेवा दिने, मापदण्ड विपरीत उपचार गर्ने तथा बिरामीको सुरक्षामा जोखिम उत्पन्न गर्ने सम्भावना उच्च हुने गर्दछ।

    काउन्सिलले चिकित्सकहरूलाई आफ्नो पेशागत मर्यादा कायम राख्दै जिम्मेवार ढंगले सेवा दिन आग्रह गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुर्‍याउन आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार