काठमाडौँ, १२ वैशाख । पाटन अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) द्वारा सञ्चालन हुने ‘नेतृत्व विकास कार्यक्रम (एलडीपी) २०२६–२०२७’ मा छनौट हुनुभएको छ ।
एस्कोले विश्वभरका उदयीमान अन्कोलोजिस्टहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, नीतिगत सोच विकास गर्ने तथा क्यान्सर उपचार क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ।
डा शाहीको छनोटले नेपाली स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर उपचार सेवाको अन्तर्राष्ट्रिय प्रतिनिधित्वलाई थप सुदृढ बनाएको एस्कोले जनाएको छ।
एक वर्षे यस कार्यक्रम अन्तर्गत सहभागीहरूलाई नेतृत्वसम्बन्धी तालिम, अन्तरक्रियात्मक सिकाइ तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्रदान गरिन्छ। एस्कोको रणनीति, नीतिगत दिशा र विश्वव्यापी क्यान्सर उपचारमा यसको प्रभावबारे गहिरो समझ विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
एस्कोद्वारा प्रदान गरिने यस कार्यक्रमका लागि छनोट हुनु अत्यन्तै सम्मानजनक र महत्वपूर्ण उपलब्धि मानिन्छ। यस वर्ष उक्त अवसर प्राप्त गर्ने डा शाही अमेरिका बाहिरका एक मात्र चिकित्सक हुनुहुन्छ ।
डा शाहीले यस उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली अन्कोलोजिस्टहरूको क्षमता, मेहनत र सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले कार्यक्रममार्फत विश्वभरका उत्कृष्ट क्यान्सर विशेषज्ञहरूसँग सिक्ने, सहकार्य गर्ने र पेशागत सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त हुने जानकारी दिनुभयो ।
उहाँले यस कार्यक्रमले नेतृत्व विकास, नीतिनिर्माण र जनचेतना अभिवृद्धि जस्ता क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।