काठमाडौँ, १८ चैत । अमेरिकाको पेन्सिलभेनिया मेडिकल सोसाइटीलेनेपाली मूलका चिकित्सक डा. शरद वलीलाई विशेष सम्मान प्रदान गरेको छ।
राज्यभरका चिकित्सकहरूको प्रतिनिधित्व गर्ने यस प्रतिष्ठित संस्थाले बिरामी तथा समुदायप्रतिको उहाँको निरन्तर समर्पण, सेवाभाव र पेशागत उत्कृष्टताको कदर गर्दै सम्मान गरेको हो।
मार्च ३० मा मनाइने Doctor's Day को अवसरमा नर्थ सेन्ट्रल पेन्सिलभेनिया क्षेत्रमा कार्यरत उत्कृष्ट पाँच जना चिकित्सकलाई यस वर्ष सम्मान गरिएको थियो।
सोही क्रममा डा. वली पनि सम्मानित हुनुभएको हो। उहाँलाई सहकर्मी तथा बिरामीहरूको सिफारिसका आधारमा छनोट गरिएको जनाइएको छ, जसले उहाँको सेवाप्रतिको विश्वास र लोकप्रियता झल्काउँछ।
डा. वली हाल पल्मोनरी तथा क्रिटिकल केयर मेडिसिन (इन्टरनल मेडिसिन) विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ। विशेष गरी गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा उहाँको महत्वपूर्ण भूमिका रहेको बताइन्छ। उहाँको नेतृत्वदायी क्षमता, विनम्र व्यवहार र बिरामीप्रतिको उत्तरदायित्वलाई चिकित्सा अभ्यासको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ।
सम्मान प्राप्त गरेपछि डा. वलीले यो सम्मान केवल उपलब्धि मात्र होइन, मेरो लागि थप जिम्मेवारी पनि हो। यसले मलाई अझ इमानदारी, सहानुभूति र समर्पणका साथ बिरामीहरूको सेवा गर्न प्रेरित गरेको बताउनुभयो ।
उहाँका अनुसार चिकित्सा सेवा केवल पेशा मात्र नभई मानवीय सेवासँग जोडिएको क्षेत्र भएकाले प्रत्येक बिरामीप्रति संवेदनशील र उत्तरदायी हुनु आवश्यक छ।
यसै अवसरमा Dr. Kevin Kist, Dr. Liana Line, Dr. Ganga Ranasinghe र Dr. Eugene Muchnik पनि सम्मानित हुनुभएको छ।